खगेन्द्र नेउपाने

माझीहर्को झगडाले नाँउ डुब्नसक्छ
नेता योग्य नभएमा गाउँ डुब्नसक्छ
त्यस्तै त्यस्तै देखिंदैछ गाउँघरतिर
कोत्रे बाटो थोत्रे गाडी लाग्छ सँधै पिर ।
दिगो विकाश भन्दा बालुवा गिट्टीतिर आँखा
कति छिटो मिल्दो रै छ कमिसनको भाका
जनताले सास्ती पा’को टुलुटुलु हेर्ने
काम् गर्न नै दिएनन् नि भन्दै भाका फेर्ने ।
एउटा नक्सा पास गर्न मैनौं धाउँनु पर्छ
हाम्लाई पनि केहि दस्तुर छुट्याउँनु पर्छ
भन्दै फाइल फाली दिन्छन् नेता रमित हेर्ने
कर्मचारी महसुर छन् कस्ले कस्लाई टेर्ने ।
पार्टी पनि ढाकछोप गर्दै पर्चाबाजी गर्छन्
आग्रहको रङ्ग दल्छन् जो जो जहाँ पर्छन्
बूढो साँढे बन्नु किन नेता जी ले पनि
छोडी दिनु बाली गर्न सकिंदैन भने ।
विशिष्टको सुविधामा करोडौंको जोहो
भ्रमण खर्च टि ए डि ए अत्यास लाग्छ ओहो !
बाटोघाटो धुलाम्य छ हिंड्न सकिंदैन
सुविधाको डङ्गुर मात्रै उनैलाई चैन ।
सबै जाना पृय मेरा सबै सङ्गी साथी
राजनैतिक आग्रहको रङ्ग भन्दा माथि
उक्लिएर बोलेको छु कहिं छैन राग
मेरा साथी ! नेतृत्वको सफलतामा लाग ।

तपाईको प्रतिक्रिया

Comments