Online Bichar
बुधबार, आषाढ १०, २०८३ | Wednesday, June 24, 2026

सुनसरी, २५ मंसिर । जिल्लाको इटहरी उपमहानगरपालिका–१० स्थित खनारमा भएको लक्ष्मी फार्म उद्योगमा आज बिहान अकस्मात् भीषण आगलागी हुँदा कम्तीमा रु दुई करोड बढीको तयारी तथा कच्चा पदार्थ र उद्योग उपकरणमा नोक्सानी भएको छ।

बिहान ४ बजे उद्योगको काम बन्द भएको र मजदूर नभएको अवस्थामा एकाएक डोरमेट बनाउने उद्योगको तयारी वस्तु गोदाम क्षेत्रबाट आगो फैलिएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ।

उद्योगी भानु टिवडेवालको उक्त उद्योगमा कार्यरत प्रबन्धक शङ्कर ठाकुरका अनुसार आगलागीमा उद्योगका तयारी डोरमेट कच्चा पदार्थ र महत्वपूर्ण मेशिनमा समेत ठूलो नोक्सानी भएको छ।

आगो लागेको केही समयमै इटहरीको वारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसमेतको ठूलो उपस्थितिमा नियन्त्रण प्रयास भएको थियो।

तत्काल धरान, इनरुवा, विराटनगर, दुहवी र सुन्दरहरैँचाको वारुणयन्त्रसमेत उद्योगको आगो नियन्त्रणमा आइपुगेकाले उद्योगमा अरु ठूलो नोक्सानी हुन नपाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

उद्योगमा के कारणले आगो लागेको हो भन्ने एकिन नभएको उल्लेख गर्दै उनले आगलागीबाट भएको नोक्सानीका विषयमा सोधखोज र एकिन तथ्याङ्क लिने कार्य भइरहेको पनि जानकारी दिए।

उद्योगमा फैलिएको आगो पूर्णरूपमा नियन्त्रणको प्रयाससँगै क्षति कम होस् भन्ने उद्देश्यले काम भइरहेको पनि उनले जानकारी दिए।

रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments