Online Bichar
बिहिबार, बैशाख ०६, २०८१ | Thursday, April 18, 2024

पोखरा, २५ मंसिर  । नक्कली लाइसेन्स बनाउँदै ठगी गरेको आरोपमा एक जना पोखराबाट पक्राउ परेका छन् । लाइसेन्स बनाइदिने भन्दै नक्कली लाइसेन्सको कागज दिँदै ठगी गरेको आरोपमा पर्वतका सरोज चपाईं क्षेत्री सोमबार पोखराबाट पक्राउ परेका हुन् ।

चपाईंले लाइसेन्स बनाइदिने प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट ३५ देखि ४५ हजार रुपैयाँसम्म ठगी गरेको उजुरी जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको थियो । जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले चपाईंलाई लेकसाइड क्षेत्रबाट पक्राउ गरेको हो ।

चपाईंले नक्कली फेसबुकमार्फत कुराकानी गरेर विभिन्न व्यक्तिबाट रकम असुली गरेको प्रमाणसहित पीडितले प्रहरीमा जाहेरी दिएका थिए । चपाईंले लाइसेन्स भन्दै नक्कली लाइसेन्सको कागज व्यक्तिमार्फत र ट्याक्सीबाटसमेत पठाउने र आइएमईमार्फत पैसा मगाउने गरेको पीडितको गुनासो थियो ।

चपाईंले म्याग्दीका म्याग्दीका सुरेश खत्री, डेकप्रसाद श्रेष्ठ, मदन श्रेष्ठ, टंकलाल श्रेष्ठ लगायतबाट लाइसेन्स बनाइदिने भन्द्र नक्कली लाइसेन्स बनाएर ठगी गरेको आरोप छ । चपाईंको कोठाबाट अन्य २ जनाकोसमेत नक्कली लाइसेन्स फेला परेको थियो ।

अहिले सरकारले लाइसेन्स दिन सकेको छैन । लिखित र ट्रायल पास भइसकेपछि बुझाएको राजस्वको रसिद नै अस्थायी लाइसेन्स भइरहेको छ । त्यस्तै प्रकारको कागज उपलब्ध गराउँदै चपाईंले ठगी गरेको आरोप छ ।

चपाईंमाथि आज मुद्दा चलाएर अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय स्रोतले जानकारी दिएको छ । चपाईंले गण्डकी यातायात कार्यालय पोखरा लाइसेन्स लेखिएको फेसबुक ग्रुप तथा पेजबाट जोडिएर लाइसेन्स बनाइदिने प्रलोभनमा ठगी गरेको आरोप छ । चपाईंलाई पक्राउ गरेसँगै थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया