Online Bichar
आइतबार, बैशाख १६, २०८१ | Sunday, April 28, 2024

काठमाडौँ, २७ माघ २०८० । संयुक्त राष्ट्र सङ्घको कृषि र खाद्य सङ्गठन (एफएओ) ले टेलिप्लान्ट डाक्टर नामको एप्स किसानसमक्ष ल्याएको छ । एफएओका कार्यक्रम विज्ञ अरुण जिसीका अनुसार हाल आलु र गोलभेँडामा लाग्ने रोगहरूको विश्लेषण गरेर राखिएको छ । सो एप्समा हाल विभिन्न १० वटा रोगका बारेमा विश्लेषण गरेर राखिएको छ ।

पोट्याटो इयर्ली ब्लाइट, पोट्याटो लेट ब्लाइट, टोमाटो ब्याक्टेरियल स्पट, टोमाटो इयर्ली ब्लाइट, टोमाटो लेट ब्लाइट, टोमाटो लिफ मल्ड, टोमाटो मोसेक भाइरस, टोमाटो सेप्टोरिया लिफ स्पट, टोमाटो स्पाइडर मिट्स र टोमाटो एलो लिफ क्युर भाइरस गरी १० वटा रोगको पहिचान यो एप्सले गरिरहेको एफएओले जनाएको छ ।

त्यस्तै विभिन्न खालका २१ हजारभन्दा बढी बालीका फोटो ट्यालीका लागि त्यहाँ राखिएको छ । किसानले आलु र गोलभेँडाको रोग पत्ता लगाउन सो बालीको पातको फोटो खिचेर एप्समा लोड गरेपछि एकछिनमै सबै कुराको जानकारी दिने विज्ञ केसीले बताउनुभयो । सञ्चालनमा आएको सो एप्स अङ्ग्रेजी भाषामा रहेको छ, त्यसलाई नेपाली बनाएर अझै परिस्कृत गरी नेपाल सरकारलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

स्थानीय रूपमा बालीमा लाग्ने विभिन्न किसिमको रोग–किराले उत्पादनमा ४० प्रतिशत क्षति पु¥याउने गरेको एफएओले जनाएको छ । एफएओले भनेको छ, “खाद्य असुरक्षा र जलवायु परिवर्तनलाई ध्यानमा राखेर हेर्ने हो भने यो निकै धेरै ठुलो नोक्सान हो ।” एप्सले जिआइएस, रिमोट सेन्सर र जलवायु डेटा प्रयोग गरेर स्थानीय रूपमा जीवाणु र रोगका लागि भविष्यवाणी गर्ने प्रणालीका रूपमा काम गरेको छ । उहाँले भन्नुभयो, “यो जति प्रयोग हुन्छ त्यति नै त्यसको क्षमताको विकास हुँदै छ र समय अनुसार आफैँले आफैँलाई अपडेट पनि गर्दै जान्छ ।”

योग्य प्राविधिकको अभावका कारण बालीमा लाग्ने रोगको परीक्षण तथा निदान समयमा गर्न नसकेका कारण किसान निकै मर्कामा परिरहेका छन् । बालीमा लाग्ने रोगबारे तत्कालै जानकारी पाउन खोजेको समयमा प्राविधिक भेट हुँदैन, त्यसले गर्दा बाली नष्ट हुने र त्यसले उत्पादनमा कमी आउने गरेको एफएओले जनाएको छ । बालीमा लाग्ने रोगले खाद्य असुरक्षा पनि बढाएको छ ।

यो समस्यालाई समाधान गर्नका लागि नै एफएओले नेपाल सरकारलाई डिजिटल भिलेज इनिसिएटिभलाई प्रवर्धन गर्न सहयोग गरिरहेको छ । सोही कार्यक्रम अन्तर्गत यो टेलिप्लान्ट डाक्टर एप्स ल्याएको छ । यो एप्सले हालसम्म सकारात्मक नतिजा देखाएको छ । नेपालीमा सुरु भएपछि किसानका लागि झन् सजिलो हुने भनेर आफूहरू त्यसको तयारीमा लागेको विज्ञ जिसीले बताउनुभयो । यसले मानव स्वास्थ्य, वनस्पति स्वास्थ्य, माटो स्वास्थ्य, पशु स्वास्थ्य र समग्र वातावरणलाई फाइदा पु¥याउने र कृषिमा विषादी र रासायनिक मलको प्रगोगलाई न्यूनीकरण गर्ने विश्वास एफएओले लिएको छ । गोरखापत्र अनलाइनबाट

 

तपाईको प्रतिक्रिया