Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, २५ मंसिर  । महंगीविरुद्ध आन्दोल चर्किएपछि दबावमा परेका फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोले तलब वृद्धि र कर छुटको घोषणा गरेका छन् । टेलिभिजनमार्फत् देशबासीलाई सम्बोधन गर्दै उनले सन् २०१९ देखि न्युनतम तलब मासिक एक सय यूरो बढाउने लगायतका घोषणा गरेका हुन् ।

कम आय भएका र पेन्सन बुझ्दै आएकाहरुमा लगाइएको कर पनि खारेज गरिएको राष्ट्रपति म्याक्रोले बताएका छन् । ओभर टाइमको आम्दानीमा पनि अब कर लाग्ने छैन । रोजगारदाताहरुलाई वर्षको अन्तिममा कर छुट र एकमुस्ट बोनस दिने गरी प्रोत्साहित गरिने उनले बताएका छन् ।

तर धनाड्यहरुलाई कर लगाउन भने नसकिने उनले बताए । म्याक्रोले भने, ‘यसबाट हामी कमजोर हुन्छौं, जबकी हामीलाई नयाँ रोजगारी सिर्जना गर्नुछ ।’

उनले अबदेखि फ्रान्सका सबै क्षेत्रका मेयरहरुसँग भेट्ने र जनताका समस्या बुझेर समाधानको पहल गर्ने आश्वासन समेत दिए ।

इन्धनमा लगाइएको करले अत्यधिक मूल्य वृद्धि भएको र त्यसको मारमा सर्वसाधारण जनता परेको भन्दै फ्रान्समा विगत चार हप्तादेखि सरकारविरुद्ध आन्दोलन जारी छ । आन्दोलनले हिंसात्मक रुप लिएपछि राष्ट्रपति म्याक्रोले सोमबार सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले हिंसात्मक प्रदर्शनको विरोध गरे, तर प्रदर्शनकारीका कतिपय माग जायज भएको पनि बताए ।

तपाईको प्रतिक्रिया