एजेन्सी, २५ माघ २०८० । बढ्दो वित्तीय घाटा र सार्वजनिक ऋणको बिचमा माल्दिभ्स ऋण सङ्कटको उच्च जोखिममा रहेको अन्तर्राष्ट्रिय मुद्रा कोष आइएमएफले जनाएको छ।
पियापोर्न सोड्स्रीविबुनको नेतृत्वमा आईएमएफको टोलीले हालैको आर्थिक घटनाक्रम र देशको नीतिगत प्राथमिकताहरूबारे छलफल गर्न जनवरी २३ देखि फेब्रुअरी छसम्म माले भ्रमण गरेपछि रिपोर्ट सार्वजनिक गरेको हो।
माल्दिभ्सको अर्थतन्त्र सन् २०२२ मा १३.९ प्रतिशतले विस्तार भएको र सन् २०२३ मा ४.४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ।
सन् २०२४ मा पर्यटक आवागमन वृद्धि भई ५.२ प्रतिशत पुग्ने अपेक्षा गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
विश्वव्यापी वित्तीय एजेन्सीले इन्धनको बढ्दो मूल्य तथा व्यापक आयात मागको बिचमा सन् २०२४ मा ठुलो घाटा रहने अनुमान गरेको छ।
महत्वपूर्ण नीतिगत परिवर्तन नभएसम्म वित्तीय घाटा र सार्वजनिक ऋण निरन्तर बढ्ने अनुमान गरिएको छ।
बाढी तथा बढ्दो समुद्री सतहका कारण माल्दिभ्स गम्भीर आर्थिक लागतका जलवायु परिवर्तनको अत्यधिक जोखिममा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
आइएमएफका अनुसार सङ्कट कम गर्न, सार्वजनिक वित्त तथा ऋणको दिगोपन पुनः स्थापना गर्न कडा मौद्रिक र विवेकपूर्ण नीतिसहित दिगो वित्तीय सुदृढीकरण आवश्यक छ।
ग्लोबल फाइनान्सियल एजेन्सीले जलवायु अनुकुलन प्रयासहरूलाई समर्थन गर्न संस्थालाई बलियो बनाउन सुझाव दिएको छ। जसले अतिरिक्त जलवायु वित्तपोषणमा पहुँच वृद्धि गरी जलवायुसम्बन्धी प्रतिबद्धताहरू पूरा गर्न मद्दत गर्ने एजेन्सीले जनाएको छ।