Online Bichar
शनिबार, बैशाख १३, २०८२ | Saturday, April 26, 2025

लन्डन, १९ माघ २०८०। स्कटल्यान्डको एबर्डिनमा आगलागीमा हुँदा दुई नेपाली दिदीबहिनीले ज्यान गुमाएका छन्। एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका आँचल सुवेदी र शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा मृत्‍यु भएको स्थानीय प्रहरीले पुष्टी गरेको छ।

शिक्षा २४ वर्ष र आँचल २८ वर्षका हुन्। उनीहरुका पिता पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा यज्ञप्रसाद सुवेदी हुन्। एबर्डिनस्थित नेप्लिज हिमालयन एशोसिएसन स्कटल्यान्डका अध्यक्ष डा शिव तिवारीका अनुसार आगलागीका कारण निस्किएको धुँवाको मुस्लोमा निसास्सिएर सुवेदी दिदीबहिनीले ज्यान गुमाएका हुन्।

उनीहरु बस्ने फ्ल्याट दोस्रो तलामा थियो भने सोही भवनको पहिलो तलामा साँझ ६ बजेको समयमा आगलागी सुरु भएको थियो। आगलागी भएको थाहा पाउनेबित्तिकै हतार(हतार तल झरेर बाहिरिन खोज्दा उनीहरु धुँवाको ठूलो मुस्लोमा निसास्सिएपछि भूईं तलाको ढोका खोल्न नपाउँदै बेहोस भएर ढलेका थिए।

आगो सुरु भएलगत्तै आएका अग्नीनियन्त्रकले भवनका उपल्लो तलाका अन्य फ्ल्याटमा रहेका मानिसहरुको सफल उद्धार गरे पनि भुईं तलामा बेहोस दिदीबहिनीको उद्धार हुन नपाइ मृत्‍यु भएको थियो।

पाँच मिनेटभित्रै दिदीबहिनीको मृत्‍यु भएकाले उद्धार सम्भव नभएको डा तिवारीले बताए। उपल्लो तलामा रहनेहरुको उद्धार भए पनि आफैं भागेर बाहिर जान खोजेका दिदीबहिनी धुँवामा निसास्सिएर ज्यान गुमाउन बाध्य बनेको बुझिएको छ।

आगलागी कसरी सुरु भयो भन्ने खुलेको छैन तर प्रहरीले घटना शंकास्पद नदेखिएको जनाएको छ। परिवारनिकट स्रोतले अस्पतालमा पोस्टमार्टम र प्रहरी अनुसन्धानको औपचारिकता पूरा भएको र आगामी साता मंगलबार दिदीबहिनीको अन्त्येष्टि गर्ने तयारी रहेको जनाएको छ।

नेपालमा पोखरा घर भएका सुवेदीको परिवार झन्डै दुई दशकदेखि स्कटल्यान्डको एबर्डिनमा बस्दै आएको थियो। उनीहरुका तीन छोरीमध्ये एक आफ्नो जीवनसाथीसँग बस्दै आएकी छन् । आगलागीमा ज्यान गुमाउने दुई दिदीबहिनी पनि पछिल्लो समय बाबुआमाको नजिकै छुट्टै फ्ल्याटमा बस्थे।

मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने आइटी अध्ययन गरेकी बहिनी शिक्षा भने समुन्द्री तटमा काम गर्थिन्।अन्नपूर्ण पोष्टबाट साभार

 

तपाईको प्रतिक्रिया