Online Bichar
शुक्रबार, जेठ ०३, २०८२ | Friday, May 16, 2025

विराटनगर, १६ माघ २०८० । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीलाई दुर्व्यवहार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ। कामु उपकुलपति कार्कीलाई उनकै कार्यकक्षमा मंगलवार एउटा समूहले मोसो दल्ने प्रयास गर्दै दुर्व्यवहार गरेको थियो।

मोसो दल्ने मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनका कार्यकर्ता सदिप सिर्पाली, निशान कटवाल र खेम थापालाई प्रहरीले पक्राउ गरेको हो।

उपकुलपतिको कार्यकक्षमा भेट्न पुगेका युवाले मोसो दल्ने प्रयास गरेको भन्दै तीनजनाहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सुनसरी प्रहरी प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार उपकुलपति कार्कीले भेट्न बोलाएका तीनजनामध्ये एकजनाले बोतलमा भरेर लगेको मोबिल प्रहार गरेका थिए।

प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको भन्दै मोसो दलिएको मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालनिकट क्रान्तिकारी युवा संगठनले जनाएको छ।

शिक्षक तथा कर्मचारीहरूले बढुवा प्रक्रिया अघि बढाउन माग गर्दै आन्दोलन गरिरहेकाले प्रतिष्ठानको सेवा प्रभावित हुँदै आएको छ।

यसअघि पनि माग पूरा गराउन दबाब दिएको तर त्यसबेला समस्या समाधान गर्ने आश्वासन दिए पनि पूरा नगरेको भन्दै उनीहरु फेरि आन्दोलित बनेका हुन्।

ओपिडी र पठनपाठन ठप्प रहेको प्रतिष्ठानमा आइतवारदेखि ओपिडी सेवा आंशिक रूपमा शुरू भएको थियो।

 

तपाईको प्रतिक्रिया