इलाम, १० माघ २०८० । इलाममा जारी प्रथम इलाम गोल्डकपमा काठमाडौंका न्युरोड टिम (एनआरटी) फाइनल प्रवेश गरेको छ ।
इलामको ठूलो टुँडीखेलमा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक रेडहर्ष फुटबल क्लब इलामलाई सडन डेथमा हराउँदै एनआरटी फाइनलमा पुगेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको टाइब्रेकरमा पनि ३/३ गोलको बराबरी भएको थियो । त्यसपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो ।
टाइब्रेकरमा आयोजकका तर्फबाट राष्ट्रिय टिमका पूर्व कप्तान नवयुग श्रेष्ठ र छिरिङ गुरुङ चुक्दा एनआरटीका सनम लिम्बू र जोन ग्लोरी चुके । सडन डेथमा आयोकका एकराज बुढाथोकी चुक्दा एनआरटीका राजिव लोप्चन गोल गर्न सफल भए ।
खेलको म्यान अफ द म्याच विजेता एनआरटीका गोलकिपर थेभ्स प्रिसो घोषित भए ।