Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

सुनसरी, २४ मंसिर । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच गोली हानाहान हुँदा एक भारतीय डाँकाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट चोरी डकैती नियन्त्रणका लागि खटिएको प्रहरीको टोली र भारतीय नाकाबाट चार–पाँच जनाको समूहमा आएको डाँकाबीच गोली हानाहान हुँदा एकको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन ।

डाँकाको समूहलाई रोक्न खोज्दा उल्टै प्रहरीमाथि नै डाँकाको समूहले गोली चलाएको थियो । आत्मरक्षाका लागि प्रहरीले जवाफी फायर गर्दा १ डाँकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक फुयाँलले जानकारी दिए ।

मृतकको शव अहिले परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान राखिएको छ ।

अन्य व्यक्ति भने भारततर्फ नै भागेका छन् । खोजतलासबाट प्रहरीले गोली लोड भएको कटुवा पेस्तोल दुई थान, तथा मृतकको पाइन्टको खल्तीबाट पाँच वटा गोलीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
रासस

तपाईको प्रतिक्रिया