Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

अमृत सुवेदी

पोखरा, २३ मंसिर  । जनप्रिय माविका पवन गिरी विद्यालयकै राम्रा विद्यार्थीमा गनिन्थे । विज्ञान समूहका पवनलाई कक्षा ११ को परीक्षाफल पनि उत्कृष्ट नै आउने विश्वास थियो ।

तर, असोज २० गते प्रकाशित नतिजाले उनी छाँगाबाट खसेजस्तै भए । उनको आशाभन्दा धेरै कम ग्रेड आएपछि उनले कक्षा १२ को पढाइ पनि राम्रोसँग गर्न सकेका छैनन् ।

अमरसिंह माविका विद्यार्थी रञ्जित दनै पनि उस्तै तनावमा छन् । आफूले लेखेको र प्राप्त गर्ने आत्मविश्वास गरेको ग्रेडभन्दा अनपेक्षित कम हुँदा भविष्य नै अन्धकारमा पर्ने चिन्ताले पिरोलेको बताउँछन् । टप्स माविका महोमद आसिफ खान विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी नतिजा आएको भन्दै चिन्तित छन् ।

सिर्जना माविका विद्यार्थी प्रकाश शर्मा परीक्षा बोर्डले गम्भीर लापरबाही गर्दै विद्यार्थीको भविष्यलाई हाँसो ठट्टाको विषय बनाइएको बताउँछन् । कक्षा ११ को परीक्षाको उत्तरपुस्तिका जाँच र नतिजा प्रकाशनमा परीक्षा बोर्डको लापरबाहीले विद्यार्थीको भविष्य अन्योलमात्रै होइन, मानसिक यातना दिएको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

कक्षा ११ विज्ञान समूहबाट परीक्षा दिने गण्डकी प्रदेशका २ हजार ७ सयभन्दा बढी विद्यार्थीको भविष्यमाथि खेलवाड गरिएको भन्दै यहाँका विद्यार्थी, अभिभावक, शैक्षिक संगठनले आन्दोलन गरिरहेका छन् ।

यस्तो छ कारण

राष्ट्रिय परीक्षा बोर्डले असोज २० कक्षा ११ को नतिजा सार्वजनिक गर्‍यो । विज्ञान समूह अन्तर्गत रसायन शास्त्र, भौतिक शास्त्र र गणित विषयमा विद्यार्थीको सी ग्रेडभन्दा कम आएको भन्दै कास्कीका विद्यार्थीले रिटोटलिङ (पुनर्याेग) गराएका थिए ।

रिटोटलिङको नतिजा मंसिर १२ गते बोर्डले प्रकाशन गर्‍यो । तर, पहिलेभन्दा पनि कम र अनपेक्षित नतिजा आएको भन्दै यहाँका शिक्षासँग सम्बन्धित सरकारवालाले फेरि आन्दोलन थालेका हुन् । विज्ञान संकायबाट परीक्षा दिने २ हजार ७ सय ३९ विद्यार्थीमा १ सय ३२ जनामात्र विद्यार्थीको नतिजा तलमाथि गरी उपलब्ध गराएको उनीहरुको दाबी छ ।
नतिजा जाँच्ने बेला नै गम्भीर लापरबाही गरेर विद्यार्थीलाई मानसिक यातना दिने काम भएको भन्दै विद्यार्थी, विद्यार्थी संगठन, विद्यालय र विद्यालयहरुको संस्थाले उत्तरपुस्तिकाको पुनर्परीक्षणको माग गर्दै आन्दोलन थालेका छन् ।

कक्षा १२ को पढाइमा असर

गण्डकी प्रदेशका विद्यार्थीको भविष्यमाथि खेलवाड भएको भन्दै परीक्षा बोर्डमा धर्ना दिए । विद्यार्थीले सोमबारदेखि रिले अनसन नै सुरु गर्दैछन् । कक्षा १२ को पढाइ चलिरहँदा ११ कै सार्वजनिक नतिजाले विद्यार्थीमा मानसिक असर परेको विद्यार्थी पवन गिरीले बताए ।

कक्षा १२ को परीक्षा मिति पछि सारेर फेरि कक्षा ११ को उत्तरपुस्तिका जाँच्न उनीहरुले माग गरेका छन् । पोखरा महानगरपालिकाका १० भन्दा बढी विद्यालयका विद्यार्थीले गएको गप्तादेखि राष्ट्रिय परीक्षा बोर्ड पोखरा कार्यालयमा दबाब र धर्ना दिइरहेका छन् ।

अघिल्लोपटक जनप्रिय बहुमुखी क्याम्पस, गोगन मावि, डायमन्ड मोडल, सगरमाथा मावि, स्टेपबाई स्टेप अमरसिंह मावि लगायत विद्यालयका विद्यार्थीले परीक्षा बोर्डले कापी जाँच गर्ने क्रममा लापरबाही गरेको गुनासो गरेका थिए । यसपटक पोखरामात्रै नभएर गण्डकी प्रदेशका विभिन्न जिल्लाका विद्यार्थीले पनि असन्तुष्टि जनाउँदै फेरि उत्तरपुस्तिका जाँच्नुपर्ने माग राखेका छन् ।

कक्षा ११ विज्ञान समूहबाट परीक्षा दिएका विद्यार्थीले आफूहरु भविष्यमाथि खेलवाड भएको भन्दै समूह गठन गरेर आन्दोलन गरिरहेका छन् भने अभिभावकहरु पनि संगठित भएर आन्दोलन थालेका छन् । सबै राजनीतिक दलसँग सम्बन्धित विद्यार्थी संगठन र शिक्षासँग सरोकारवाला मिलेर संघर्ष थालेका हुन् ।

गल्ती गर्ने व्यक्ति ठूलो कि विद्यार्थीको भविष्य ठूलो ?

विद्यालय संयोजन समितिका संयोजक बाबुराम पन्तले कापी नै नजाँची नतिजा प्रकाशन गरिएको बताए । ‘हामीले विद्यार्थीको नतिजा रिटोटलिङ गर्न निवेदन दिएपछि हामी काठमाडौं गएर परीक्षा बोर्डका प्रतिनिधिसहितले हेर्दा कापी नै जाँचिएको रहेनछ,’ उच्च माध्यामिक विद्यालय संघ (हिसान) कास्कीका पूर्व अध्यक्ष पन्तले भने, ‘परीक्षा बोर्डदेखि सबैलाई गल्ती भएको अवगत भएपछि छानबिन समिति बनाउने भनियो, बनाइयो पनि तर छानबिन प्रतिवेदन सार्वजनिक गरिएन र झन् दुखद नतिजा सार्वजनिक गरियो ।’

सबै विद्यार्थीको अंक डी र ई ग्रेडमात्र आउने कुरा हुनै नसक्ने उनको भनाइ छ । कलेजकै टप विद्यार्थीको पनि डी र ई ग्रेड आएको भन्दै संयोजक पन्तले बोर्डको चरम लापरबाहीका कारण विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए ।

‘कलेजका टप विद्यार्थी जो ए ग्रेड आउने आत्मविश्वासमा बसेको छ, उसको डी ग्रेड आएको छ । फिजिक्समा बी ग्रेड ल्याउने पनि कोही छैनन्, सबै विद्यार्थीको एकै नतिजा कसरी आउँछ,’ पन्तले भने, ‘न्युनतम सी प्लस पनि नल्याई कसरी हाम्रा विद्यार्थीले राम्रा विश्वविद्यालयमा पढ्न पाउँछन् ?’

परीक्षा बोर्डका पदाधिकारीदेखि शिक्षा मन्त्रालयका सचिव खगराज बरालसम्मलाई गल्ती भएको कुरामा अवगत रहेको तर कसैको इज्जत गुम्ने डरमा केही गर्न नसकेको उनको गुनासो छ । ‘गल्ती सच्याउँदा इज्जत जाने डर ठूलो कि विद्यार्थीको भविष्य ठूलो ?’ उनले प्रश्न गरे । शिक्षामन्त्री गिरिराजमणि पोखरेल, नेकपा अध्यक्ष पुष्पकमल दाहालसम्मलाई यस विषयमा जानकारी गराइएको हिसान कास्की अध्यक्ष रामजी शर्माले जानकारी दिए ।

अभिभावक सरोकार समिति संयोजक मोहनराज तिवारीले कक्षा ११ को नतिजा सार्वजनिक भएपछि आफ्नो छोरी तनावमा रहेको र कक्षा १२ को पढाईमा पनि ध्यान दिन नसकेको बताए । ‘मेरी छोरी विद्यार्थीमा प्रथम थिइन्, ए ग्रेडभन्दा कम त आउँदै आउँदैन भन्ने आत्मविश्वासमा थिइन्,’ तिवारीले भने, ‘अहिले उसको सब जोस जाँगर मरेको छ ।’

आइन्सटाइनको कापी जाँच्न चाल्स शोभराज !

उत्तरपुस्तिका फेरि जाँच्नुपर्ने माग उनीहरुको छ । बोर्डको नियमानुसार उत्तरपुस्तिका पुनः जाँच गर्न मिल्दैन ।

एउटामात्रै मौका परीक्षा दिन मिल्ने नियम परिवर्तन गरेर दुई वटा विषय दिन मिल्ने नियम बनाउन मिल्छ भने फेरि कापी जाँच्ने नियम पनि बनाउन मिल्ने अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कृष्ण दाहालले बताए ।

बोर्डकै प्रतिनिधि राखेर फेरि उत्तरपुस्तिका जाँच्ने व्यवस्था मिलाउन विद्यार्थी संगठनहरुले माग गरेका छन् । प्रतिविषय ५ सय रुपैयाँ तिरेर रिटोटलिङ गराइएको थियो तर उस्तै लापरबाही दोहोरिएको अनेरास्ववियुका शेखर गौतमले बताए ।

नयाँ शक्ति विद्यार्थी युनियनका केन्द्रीय सचिव नेत्र चापागाईंले शैक्षिक माफियाहरुका कारण विद्यार्थीको भविष्य अन्योलमा परेको छ । पोखराका विद्यालयले कम नतिजा पाए काठमाडौं विद्यार्थीको आकर्षण बढ्ने भएकाले त्यहाँ भित्री खेल पनि भएको हुनसक्ने उनको आरोप थियो ।

कापी जाँच्ने काममै गडबड भएको बताउँदै नेता चापागाईंले ब्यंग्य गरे, ‘यो त अल्बर्ट आइन्सटाइनको कापी जाँच्न चाल्स शोभराजलाई दिएजस्तो भयो ।’

रिले अनशनदेखि प्रधानमन्त्रीको ध्यानाकर्षणसम्म

विद्यार्थी संगठन, अभिभावक र हिसानले रिले अनसनदेखि प्रधानमन्त्रीसम्मलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम सार्वजनिक गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गर्दै उनीहरुले सोमबारदेखि परीक्षा बोर्डको कार्यालय पोखरामा रिले अनशन थाल्ने जानकारी दिएका छन् ।

त्यससँगै आइतबार नै पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुन र मुख्यमन्त्रीको कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

लगत्तै शिक्षामन्त्री गिरिराजमणि पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि ज्ञापन पत्र बुझाउने कार्यक्रम विद्यार्थीले सार्वजनिक गरेका छन् ।

अनलाइन खबरबाट

तपाईको प्रतिक्रिया