Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

दमक, २९ पुस २०८० । सातौँ राष्ट्रिय भक्का दिवस झापामा भव्य रूपमा मनाइएको छ । रैथाने परम्परागत खाद्य परिकारको रूपमा प्रवर्द्धन र संवर्द्धन गर्ने साझा प्रतिबद्धता सहित आइतबार भक्का दिवस मनाइएको हो ।

७ वर्ष अघिदेखि हरेक पुस २९ गते भक्का दिवस मनाउन सुरु भएको हो । राजवंशी समाज विकास समिति केन्द्रीय समितिको आयोजनामा बिर्तामोडस्थित डोमलाल राजवंशी रङ्गशालामा निःशुल्क भक्का वितरण सहित विभिन्न सांस्कृतिक कार्यक्रमहरू सहित सातौँ भक्का दिवस मनाइएको हो । चामलको पिठो ९खासगरी कनिका० बाट बन्ने भक्का राजवंशी लगायत पूर्वी नेपालको सबै समुदायले चिसो मौसममा खाने प्रमुख परिकार रूपमा लिइन्छ ।

भक्का दिवस विशेष कार्यक्रमको आइतबार बिर्तामोडमा उद्घाटन गर्दै कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले कोशी प्रदेशका आदिवासी समुदाय राजवंशीको मौलिक र रैथाने खाद्य परिकारको प्रवर्द्धनका लागि भक्का दिवस सफल बनेको बताउनुभयो । उहाँले यसलाई विश्व बजारमा नै ब्रान्डिङ गर्दै लैजानु पर्नेमा जोड पनि दिनुभएको छ ।

‘हाम्रा परम्परागत संस्कृति र रैथाने खाद्य परिकारहरूको संरक्षणको एउटा पक्षको रूपमा यसलाई लिन सकिन्छ’, मन्त्री उप्रेतीले भन्नुभयो । हाम्रो संस्कृति र यस प्रकारका खाद्य परिकारले पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताउनुभयो । समाजमा रहेका सबै संस्कृति, भाषा र पहिचानलाई संरक्षण गर्न आफूहरू सधैँ तत्पर रहेको उहाँले जनाउनुभयो ।

भक्का पछिल्लो समयमा खाजाको रूपमा मात्र स्थापित नभएर धेरै महिलाहरूलाई रोजगारी सिर्जना गर्ने माध्यम बनेको पाएको पनि मन्त्री उप्रेतीले बताउनुभयो । यसले धेरै हाम्रा महिला तथा आमाहरूलाई रोजगार पनि दिएको छ र यसलाई विस्तार गरेर थप रोजगार सिर्जना गर्न सकिनेमा उहाँले जोड दिनुभयो ।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्द्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले मनाउँदै आएको राष्ट्रिय भक्का दिवस यो वर्ष पनि भव्य भएको राजवंशी समाज विकास समितिका अध्यक्ष अभय राजवंशीले बताउनुभयो । भक्का दिवसले तराई भेगमा जाडोयामको समय भक्का पर्यटनलाई समेत टेवा पुर्‍याउने जनाउनुभयो ।

भक्का दिवसमा आदिवासी जनजाति मात्र नभएर सबैको व्यापक उपस्थिति थियो । एक सय ५० भन्दा बढी महिलाहरूले भक्का पकाएर दिवसमा आउनेहरूलाई निःशुल्क वितरण गरिएको थियो । दिवसमा सहभागीहरूलाई २ हजार केजी चामलको पिठोबाट भक्का बनाई निःशुल्क रूपमा खुवाइएको राजवंशीले बताउनुभयो ।

यस्तै, भक्का दिवसको अवसरमा झापाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकाले स्थानीय सार्वजनिक बिदा दिएका छन् ।

तपाईको प्रतिक्रिया