Online Bichar
शुक्रबार, जेठ ०४, २०८१ | Friday, May 17, 2024

झापा, २५ पुस २०८० । झापाको भद्रपुर र विर्तामोडमा राष्ट्रिय भाक्का दिवस उत्सवको रूपमा मनाउन लागिएको छ। आदिवासी राजवंशी समुदायको जाति विशेष परिकार भाक्का (भाका) लाई यही पुस २९ गते आइतबारका दिन उत्सवको रुपमा मनाउन लागिएको आयोजक समितिले जनाएको छ। राजवंशी समाज विकास समिति झापाले भद्रपुरमा प्रथम राष्ट्रिय भाक्का दिवस मनाउन तयारीमा जुटेको छ।

भद्रपुर-६ स्थित सिटी गार्डेन होटेल परिसरमा बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म मनाउन लागेको दिवसको बारेमा समितिले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको हो। भाक्का दिवसको तयारी लगभग पूरा भइसकेको समितिका अध्यक्ष उत्तम राजवंशीले जानकारी दिए।

राजवंशी समुदायले पुस २९ गतेलाई भाक्का दिवसका रूपमा मनाउँदै आएको बताउँदै समितिका अध्यक्ष उत्तमले भने, ‘चामलको पिठो (खासगरी कनिका) बाट बन्ने भाक्का हाम्रो समुदायले चिसो मौसममा खाने प्रमुख परिकारमा पर्छ।’ यस दिवसका दिन २५ जनाले सामूहिक रुपमा माटोको भाडा र दाउराको चुलोमा भक्का बनाउनुका साथै विभिन्न स्वादका अचार र तरकारीसहितको स्टल राखिने उनले बताए।

सो दिन दुई हजारदेखि २५ सय जनालाई भाक्का खुवाउने तयारी छ। दिवसलाई भव्यरूपमा मनाउने विभिन्न सांस्कृतिक कार्यक्रमको पनि आयोजना गरिने उनले बताए।

कार्यक्रममा राष्ट्रिय कलाकार बलराम राजवंशी, कुसुम राजवंशी, सपना राजवंशी, उर्मिला राजवंशी लगायत स्थानीय कलाकारहरूको प्रस्तुति रहने जनाइएको छ।

कार्यक्रममा काठमाडौं, सुनसरी, मोरङसहित झापाका सबै स्थानीय तहबाट राजवंशी समुदायको सहभागिता रहने बताइएको छ। करिब ३ लाख रुपैयाँ अनुमानित खर्च हुने यस कार्यक्रममा स्थानीय तहसहित विभिन्न दाताहरूबाट सहयोग रकम जुटाइने उनको भनाइ छ। कोचिला गाभुर फ्रन्टले जिल्लामा भाक्का दिवसको सुरूवात गरेको केन्द्रीय समितिका सचिव लखनलाल राजवंशीले जानकारी दिए।

उता राजवंशी समाज विकास समितिले यो वर्ष विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सातौं राष्ट्रिय भाक्का दिवस मनाउने तयारीमा जुटेको छ। बुधबार आयोजनास्थलमा पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष अभय राजवंशीले कार्यक्रमको प्रमुख अतिथिका रुपमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती आउने बताए।

राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले भाक्का दिवस मनाउँदै आएको उनको भनाइ छ।

भाक्का दिवसमा १५० जना महिलाहरूले सामूहिक रुपमा दुई हजार किलो चामलबाट तयार भएको पिठोबाट भाक्का बनाउने छन्। कार्यक्रमलाई भव्य बनाउन भारतीय गायिका नीलाञ्जना राय बिर्तामोड आउने उनले बताए।

पश्चिम बंगाल अलिपुरद्वारकी उनी सन् २०२२ को सारेगामापाकी विजेता हुन् भने २०१७ को भ्वाइस अफ इन्डिया किड्सको उपविजेता र २०१८ को इन्डियन आइडल जुनियरमा तेस्रो भएकी हुन्। त्यस्तै सेलिब्रेटी सेफ सन्तोष शाह पनि कार्यक्रममा आउने जनाइएको छ। कार्यक्रममा पाँच सयजना कलाकारहरूको सामूहिक लोक सांस्कृतिक राजवंशी नृत्यको प्रस्तुति रहनेछ भने ३० हजारको सहभागिता रहने अनुमान गरिएको आयोजक समितिले जनाएको छ।अन्नपूर्णपोष्टबाट

 

तपाईको प्रतिक्रिया