Online Bichar
बुधबार, आश्विन २३, २०८१ | Wednesday, October 9, 2024

वासिङटन डिसी, २४ पुस २०८० । अमेरिकाले चन्द्रमाका लागि प्रक्षेपण गरेको एउटा मानवरहित रकेटमा समस्या देखा परेको छ। फ्लोरिडाबाट उड्नासाथ भोल्कन रकेटमा केही अनपेक्षित समस्या देखा परेको उक्त रकेट निर्माण गर्ने एस्ट्रोबटिक कम्पनीले जनाएको छ।

उक्त रकेटले अमेरिकी अन्तरिक्षयान पेरेग्रिन ल्यान्डर बोकेको छ। प्राविधिक समस्याका कारण पेरेग्रिन अन्तरिक्षयानका सौर्य प्यानलहरू सूर्यतिर फर्किएर स्थिर भई रहन सकेका छैनन्।

पेरेग्रिन ल्यान्डरलाई अमेरिकी अन्तरिक्ष अन्वेषण निकाय नासाले चन्द्रमामा आफूले गर्न खोजेको व्यावसायिक कामको योजनामा राखेको छ।

आधा शताब्दीभन्दा बढी समयपछि चन्द्रमामा अवतरण गर्ने प्रयास गर्ने पहिलो अमेरिकी अन्तरिक्ष यान सोमबार बिहान प्रक्षेपण गरिएको हो।

यदि सबै कुरा योजनाअनुसार भयो भने पेरेग्रिन फेब्रुअरी २३ मा चन्द्रमाको मध्य अक्षांश क्षेत्र ‘साइनस भिस्कोसिटाटिस’ अर्थात् ‘बे अफ स्टिकिनेस’ मा अवतरण हुनेछ ।

अहिलेसम्म, पृथ्वीको सबैभन्दा नजिकको खगोलीय छिमेकमा सफल अवतरण केवल केही राष्ट्रका अन्तरिक्षसम्बन्धी निकायहरूले मात्र पूरा गरेका छन् । यस अभियानलाई पूर्व सोभियत सङ्घले पहिलो पटक सन् १९६६ मा सम्पन्न गरेको थियो भने त्यसपछि लगत्तै संयुक्त राज्य अमेरिका चन्द्रमामा मानिसहरूलाई अवतरण गराउने मुलुक बनेको थियो ।

पछिल्लो एक दशकमा चीनले तीन पटक सफलतापूर्वक अवतरण गरेको छ भने भारतले गत वर्ष आफ्नो दोस्रो प्रयासमा यो उपलब्धि हासिल गरेको थियो । बीबीसी

 

तपाईको प्रतिक्रिया