Online Bichar
शनिबार, जेठ १२, २०८१ | Saturday, May 25, 2024

एजेन्सी, १९ पुस २०८० । इरानमा बुधबार दुईवटा श्रृंखलाबद्ध बम बिष्फोट हुँदा कम्तिमा ९५ जना मारिएका छन् । इरानका जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेको चौथो वर्षगाँठमा उनकै चिहान नजिक वम विष्फोट गराइएको हो ।

केरमान सहरको साहेब अल–जमान मस्जिद नजिकैको जुलुसमा विस्फोट हुँदा अन्य दर्जनौं घाइते भएका छन् । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले यो आतंकवादी आक्रमणको “कठोर जवाफ’’ दिने वाचा गर्नुभएको छ ।

पछिल्लो ४२ वर्षमा इरानमा भएको यो सबैभन्दा घातक आक्रमणको अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । अरब पृथकतावादी र इस्लामिक स्टेट (आईएस) जस्ता सुन्नी जिहादी समूहहरूमाथि शंका गरिएको छ ।

सन् २०२० मा छिमेकी मुलुक इराकमा अमेरिकी ड्रोन हमलामा मारिएका सुलेमानीलाई इरानमा सर्वोच्च नेता पछि सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा हेरिन्थ्यो । लेबनानमा इजरायली ड्रोन हमलामा इरान समर्थित प्यालेस्टिनी समूह हमासका उपनेता मारिएपछि यस क्षेत्रमा तनाव बढीरहेका बेला इरानमा बुधबार बम आक्रमण भएको हो ।

 

तपाईको प्रतिक्रिया