Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

काठमाडौँ, १२ पुस २०८० । भारतीय बजारमा बासमती चामलको भाउ घटेको छ । लाल सागर भएर जाने ढुवानी जहाजहरूमा आक्रमणपछि भारतको बासमती चामलको निर्यात घटेसँगै घरेलु बजारमा मूल्य ५ देखि १० प्रतिशतसम्म घटेको हो ।

हाउथीहरूको आक्रमणबिच स्वेज नहरको बाटो भएर हुने ढुवानी बन्द गर्ने शीर्ष ढुवानी कम्पनीहरुको निर्णयका कारण रुस र युक्रेनबाट सूर्यमुखी तेलको आयात पनि प्रभावित बनेको छ । अन्तर्राष्ट्रिय बजारमा गएको एक हप्तामा सूर्यमुखी तेलको भाउ प्रतिटन ३० डलरले बढेको भएपनि भारतीय बजारमा भाउ ३ देखि ४ प्रतिशतसम्म घट्ने देखिएको ट्रेड इन्साइडरहरुले बताएका छन् ।

बासमतीको निर्यात घटेको र भारतबाट जेद्दाह, यमन, बेरुत र डर्बनतर्फ ढुवानीको लागत बढ्दा निर्यात प्रभावित भएको छ । लाल सागर संकट उत्पन्न हुनुअघि भने यमनतर्फ प्रतिकन्टेनर ढुवानी शुल्क ८५० डलर मात्रै लाग्थ्यो । तर अहिले यो लागत बढेर २ हजार ४०० डलरमा पुगेको बताइएको छ । जेद्दाहतर्फको ढुवानी खर्च पनि पाँच गुणा बढेर १ हजार ५०० डलर पुगेको छ । ढुवानी खर्चमा भएको वृद्धिका कारण निर्यात बजारका क्रेताहरुले खरिदारी नगरेको वा कम गरेको बताइएको छ । घरेलु स्तरमा चामलको आपूर्ति बढेर अहिले भाउ घटेको बताइएको छ ।

भारतले वार्षिक रुपमा ४० लाखदेखि ४५ लाख टनसम्म बासमती चामल निर्यात गर्ने गरेको छ । खाडी मुलुक भारतीय बासमती चामलको सबैभन्दा ठूला क्रेता हुन् । भारतले सीमापार बेच्ने कुल मध्ये ८० प्रतिशत चामल खाडी मुलुकमा जान्छ । डच शिपिङ कम्पनी मेयस्कले लाल सागरको बाटो भएर ढुवानी सुचारु गर्ने घोषणा गरेपछि मिति तोकेको छैन ।

 

तपाईको प्रतिक्रिया