Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

दोलखा, २१ मंसिर । बालगृहबाट हराएका बालक खोजी गर्दा प्रहरीले चोर फेला पारेको छ । मङ्गलबारदेखि बालगृहबाट दुई बालक हराएको खबर आउनेबित्तिकै जिल्ला प्रहरी कार्यालय दोलखाले मातहतका युनिटका प्रहरी परिचालन गरेर खोजी गर्‍यो । बालक बिहीबार बस चढेको अवस्थामा प्रहरीले फेला पार्‍यो । बालकलाई जिल्ला प्रहरी कार्यालय पुर्‍याएर सोधपुछ सुरु गरेको १० मिनेट नपुग्दै भीमेश्वर नगरपालिका–६ सिमपानीबाट रञ्जितकुमार पाठक आफ्ना चोरीको सामान खोजिदिन निवेदन लिएर आए । संयोगवश पाठकले प्रहरीलाई खोजिदिन गरेको निवेदनमा उल्लेखित सामान र ती बालकले बोकेका सामान मिल्दोजुल्दो देखियो।

प्रहरीले थप सामान खोजी गर्न बालकमाथि नै अनुसन्धान गर्न बालगृह पुर्‍यायो । बालगृहमा उनीहरुले लुकाएर राखेका पाठककै सामान फेला पारेको जिल्ला प्रहरी कार्यालय कार्यालयका प्रहरी निरीक्षक माधव काफ्लेले जानकारी दिए।बाँकी सामान प्रहरीले सोधपुछ गर्दै जाँदा सिमपानीकै जङ्गलमा लुकाएर राखिएको अवस्थामा भेटियो । पाठकले निवेदनमा माग गरेका एउटा क्यामेराबाहेकका सबै सामान ती बालकबाट फेला पारेको प्रहरी निरीक्षक काफ्लेले बताए।

बुधबार पाठकको सिमपानीमा रहेको कटेजबाट सामान चोरी भएका थिए । सामान चोरी भएको थाहा पाएलगत्तै प्रहरीमा उजुरी दिएका थिए । तर प्रहरीले चोर पत्ता लगाउन सकेको थिएन। यो घटनापछि दोलखाको गौरीशङ्कर बालगृहका बालबालिका चोरीका घटनामा संलग्न भएको पाइएको छ। अहिले प्रहरीले ती बालक चोरीका घटनामा संलग्न रहेको अभियोगमा थप अनुसन्धान जारी राखेको जानकारी दिएको छ।पछिल्लो समयमा चरिकोट बजारमा भएको अधिकांश चोरीका घटनामा बालकको संलग्नता पाइएका बेला गौरीशङ्कर बालगृहका बालकसमेत चोरीमा संलग्न देखिएका हुन्।

प्रहरी कार्यालयमा बुधबार भिनपा–६ सिमपानी नजिकै घरमा कोही नभएको मौका पारी कटेरो फोडेर क्यामेरा, चाँदीको गरगहनालगायतका सामान चोरी भएको उजुरी परेको थियो।दोलखा प्रहरीले केही दिनअघि मात्रै चोरीमा संलग्न चार बालकलाई नियन्त्रणमा लिएको थियो।

यही मङ्सिर १६ गते भीमेश्वर नगरपालिका–६ चरिकोटमा एकै दिन सात स्थानमा चोरी भएपछि प्रहरीले अनुसन्धानका क्रममा चोरीमा संलग्न चार बालकलाई पक्राउ गरेको थियो । पक्राउ परेका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । कम उमेर समूहका बालक चोरीका घटनामा संलग्न भए पनि उनीहरुलाई मुद्दा लगाएर कानूनी कारवाही गर्ने व्यवस्था नभएका कारण प्रहरीले अभिभावकको जिम्मा लगाउने गरेको छ ।

रासस

तपाईको प्रतिक्रिया