Online Bichar
सोमबार, बैशाख १७, २०८१ | Monday, April 29, 2024

विराटनगर, २५ मंसिर २०८० । कोशी प्रदेशमा गत वर्षको तुलनामा धान उत्पादनमा उल्लेख्य वृद्धि भएको पाइएको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता हुनु, उन्नत जातको बीउको प्रयोग र रोग किराको प्रकोप कम भएको कारण धान उत्पादन वृद्धि भएको प्रदेश सरकारले जनाएको छ ।

कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत रहेको कृषि विकास निर्देशनालयका अनुसार गत वर्ष कोशी प्रदेशमा १२ लाख ९८ हजार ८५५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो वर्ष भने धान उत्पादनमा अघिल्लो वर्ष भन्दा ८३ हजार २८२ मेट्रिक टन वृद्धि हुँदै १३ लाख ८२ हजार १३७ मेट्रिकटन उत्पादन भएको हो ।

निर्देशनालयका अनुसार गत वर्षको धान उत्पादकत्व ३.९२ प्रतिशत थियो भने यो वर्ष उत्पादकत्व वृद्धिदर ५.८३ पुगेको छ । यस्तै उत्पादन वृद्धिदर ६.४१ हुँदा रोपाई भएको क्षेत्रफल वृद्धिदर भने ०.५५ प्रतिशत मात्रै छ ।

तथ्याङ्क अनुसार कोशी प्रदेशको उच्च पहाडी क्षेत्रमा यस वर्ष २३ हजार २४५ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । उक्त क्षेत्रमा ५३ हजार ९७४ मेट्रिक टन धान उत्पादन भयो । गत वर्ष भने २३ हजार ७६३ हेक्टर क्षेत्रफलमा धान लगाउँदा उत्पादन भने ६३ हजार ४ मेट्रिकटन भएको थियो ।

मध्य पहाडमा भने गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन घटेको छ । मध्य पहाडको ८७ हजार ९३२ हेक्टर क्षेत्रफलमा लगाइएको धान गत वर्ष २ लाख ५७ हजार १९१ मेट्रिक टन उत्पादन भएको थियो । यो वर्ष भने धान लगाएको क्षेत्रफल पनि मध्य पहाडमा घटेको छ । मध्यपहाडमा यो वर्ष ८५ हजार ६०१ हेक्टरमा लगाएको धानको उत्पादन २ लाख ५४ हजार ५१५ मेट्रिक टन छ ।

अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा भने धान उत्पादनको क्षेत्र र उत्पादन वृद्धिदर पनि बढेको छ । गत वर्ष झापा, मोरङ र सुनसरीमा २ लाख १९ हजार ३९३ हेक्टर क्षेत्रफलमा धान खेती हुँदा उत्पादन भने ९ लाख ७८ हजार ६५८ मेट्रिक टन थियो । यो वर्ष भने तीन जिल्लाको २ लाख २४ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुँदा उत्पादन बढेर १० लाख ७३ हजार ६४७ मेट्रिक टन पुगेको छ ।

उच्च पहाडी जिल्ला संखुवासभा र मध्यपहाडी जिल्ला भोजपुर, तेह्रथुम, धनकुटा, उदयपुर, ओखलढुङ्गा र खोटाङमा भने गत वर्ष भन्दा धान उत्पादन घटेको छ । यस्तै उच्च पहाडी जिल्ला ताप्लेजुङ, सोलुखुम्बु तथा मध्यपहाडी जिल्लाको पाँचथर र इलाममा भने धान उत्पादन बढेको छ । कोशी प्रदेशमा धान उत्पादन हुने जमिन ३ लाख ४० हजार ८२९ हेक्टर रहेको छ । किसानहरूले धेरै रञ्जित र स्वर्ण प्रजातिको धान लगाएका थिए ।

कृषि निर्देशनालयको तथ्याङ्क अनुसार गत वर्ष पनि अघिल्लो आर्थिक वर्षमा भन्दा १ दशमलव २७ प्रतिशतले धान उत्पादन वृद्धि भएको थियो । अघिल्लो आर्थिक वर्षमा भने १२ लाख ८२ हजार ८५५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो अघिल्लो वर्षको तुलनामा १६ हजार मेट्रिक टन बढी हो ।

 

तपाईको प्रतिक्रिया