Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

विराटनगर, १९ मंसिर । नक्कली विद्युत् परियोजना र विजनेस म्यानेजमेन्ट ग्रुप खोलेर ठगि धन्दा चलाउँदै आएका गुणराज ओझा पक्राउ परेलगत्तै उजुरी दिनको लर्को लागेको छ । मोरङ लेटाङ्ग नगरपालिका–३ घर भई हाल विराटनगर–५ जामुनगाछी ससुरालीमा बस्दै आएका ओझालाई मोरङ प्रहरीले मंसिर ११ गते राति पक्राउ गरेको थियो ।

उनले आफैले राखेका कर्मचारीबाट रकम असुलेका थिए । प्रहरीका अनुसार ओझाले काम गर्ने कर्मचारीलाई नयाँ कार्यालय सञ्चालन गर्न गाह्रो परेको बाहाना बनाउँदै कर्मचारीबाट रकम असुलेका थिए ।

ओझाले कम्पनीको सेयर दिने भन्दै राजेन्द्र अधिकारी ४ लाख रुपैयाँ, नक्कली कम्पनी खुलेर खरिदारमा नियुक्त गरेका सन्तोष कार्कीको ५६ हजार, चालक इश्वर श्रेष्ठबाट १ लाख ३५ हजार, इन्दिरा ढकाललाई नासुममा नियुक्ति गर्दै ८० हजार, अधिकृतमा गोविन्द भगतसँग ३ लाख, खरदारमा मालता काफ्ले अधिकारीको २ लाख रुपैयाँ ओझाले लिएको भन्दै उनीहरूले मोरङ प्रहरीमा उजुरी दिएका छन् ।

विराटनगर–४ मा तीन वटा घर भाडामा लिएर कम्पनी खोलेका ओझाले कार्यालयमा ल्याएको फर्निचरको पैसाँ समेत नदिएको भन्दै प्रहरीमा उजुरी परेको छ । विराटनगरको सुनकोशी फर्निचरबाट ओझाले कार्यालयको लागि ५ लाख ८५ हजार रुपैयाँ बराबरको फर्निचर लगेको सञ्चालकले उजुरी दिएका छन् ।

ओझालाई पक्राउ गरेपछि उनीबाट ठगिएको भन्दै प्रहरीमा उजुरी दिन आउने बढेको जिल्ला प्रहरी कार्यालय मोरङमा प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले बताए ।

उनका अनुसार अहिलेसम्म ओझाबाट ठगिएको भन्दै मोरङ प्रहरीमा २१ वटा उजुरी आएको छ । हाल उजुरी आइरहेको हुनाले ओझाले कति रुपैयाँ ठगी गरे त्यो भने खुलिसकेको छैन । अनुसन्धानकै क्रममा रहेकाले ओझाले एकमुष्ठ कति ठगि गरे त्यो भने पछि खुल्ने प्रहरीले जनाएको छ ।

ब्लाष्टखबर बाट

तपाईको प्रतिक्रिया