काठमाडौं, १८ कार्तिक २०८० । भोलि हुने नेपाल र ओमान बीचको फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा रकम भूकम्प पीडितलाई सहयोग गर्ने नेपाल क्रिकेट संघ (क्यान) ले घोषणा गरेको छ ।
टी–२० विश्वकप एसिया छनोटको फाइनलमा आइतबार बिहान ११ बजे नेपाल र ओमान भिड्दैछन् । संघका सचिव पारस खड्काअनुसार भोलि अधिकतम १२ हजारसम्म टिकट बिक्री गर्ने लक्ष्य छ । प्रति टिकटको मूल्य ३५० रुपैयाँ तोकिएको छ ।
क्रिकेट संघले शनिबार सूचना निकालेर फाइनल खेलको टिकट बिक्रीबाट प्राप्त हुने रकमको आधा (५० प्रतिशत) भूकम्प पीडितलाई दिने जनाएको छ ।
शुक्रबार मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा मानवीय क्षति भएको छ ।