काठमाडौं, १६ कार्तिक २०८० । आईसीसी टी ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटमा नेपालले ओमानसँग हार ब्यहोरेको छ । बिहीबार कीर्तिपुर मैदानमा समूह चरणको अन्तिम खेलमा नेपालले ओमानसँग ५ रनको हार ब्यहोरेको हो ।
ओमानले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा अलआउट हुँदै १ सय ४० रन मात्र बनाउन सक्यो ।
ओमानविरुद्ध नेपाली ब्याटर चल्न सकेनन् । ओपनर कुशल भुर्तेलले २६ रन बनाउनु बाहेक सुरुआती ब्याट्सम्यानले खासै रन बनाउन सकेनन् । आसिफ शेख ५, सोमपाल कामी १२, कुशल मल्ल १० र कप्तान रोहित पौडेल १२ रनमा आउट भएका थिए ।
सन्दीप जोरा १२ रनमा पोविलियन फर्किदा गुल्सन झा ३, सन्दीप लामिछाने २ र करन केसी १५ रनमा आउट भएका थिए ।
नयाँ ब्याट्सम्यान विवेक यादवले ३९ रनको इनिङ्स खेल्दै नेपालको जितको सम्भावनालाई जगाएका थिए । तर अन्तिम ओभरमा उनीपनि क्याच आउट हुन पुगे । अविनाश १ रनमा अविजित रहे ।
ओमानका बिलाल खानले ३ तथा सकिल अहमद, मेरान खान र आकिब इलियासले समान २ विकेट लिए । जिसन मसुदको हातमा १ विकेट रह्यो ।
नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेपछि पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
कप्तान जिशान मकसुदले ३२ रन बनाएको इनिङ्समा तल्लो क्रमका ब्याट्सम्यान नसिम खुशीले २५ रन बनाए ।
प्रतिक आठवलेले २४ र सकिल अहमदले नटआउट २२ रन बनाए । आयान खानले १८ रनको योगदान दिए । अन्यको प्रर्दशन उल्लेख्य रहेन ।
नेपालका करन केसीले ३ तथा सन्दीप लामिछाने र सोमपाल कामीले समान २ तथा गुल्सन झा र अविनाश बोहराले समान १ विकेट लिएका थिए ।
जित सहित ओमान समूह एको विजेता बन्दै सेमिफाइनल पुगेको छ । उसले समूह चरणका तीनै खेलमा जित निकाल्दै ६ अंक जोड्यो । नेपाल ४ अंक सहित उपविजेता बन्यो ।
नेपालले फाइनल प्रवेशका लागि अब समूह बीको विजेतासँग खेल्नेछ ।