Online Bichar
आइतबार, मंसिर १७, २०८० | Sunday, December 3, 2023

काठमाडौं, १४ कार्तिक २०८० । आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप छनोटमा मलेसियाले नेपाललाई १६६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर १६५ रन बनायो ।

मलेसियाका ओपनर सैयद अजीजले ६८ र जुबैदी जुल्किफले २४ रन बनाउँदै मलेसियालाई शानदार सुरुआत दिलाएका थिए । तर, त्यसपछिका ब्याट्सम्यान खासै जम्न सकेनन् । बलिङतर्फ नेपालका अबिनाश बोहराले ४ तथा सन्दीप लामिछाने, गुलसन झा र कप्तान रोहित पौडेलले समान १ विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

समूह ’ए’ मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो । नेपालले आजको खेल जिते सेमिफाइनल पुग्ने छ । नेपाललाई विश्वकप एसिया छनोटको उपाधि दाबेदारका रूपमा हेरिएको छ । प्रतियोगिताको फाइनल पुग्ने टिम अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने ट्वान्टी–ट्वान्टी विश्वकप खेल्ने छ ।

यसअघि आजै भएको अन्य खेलमा ओमान र बहराइन विजयी भएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानले सिङ्गापुरलाई र मूलपानी क्रिकेट मैदानमा भएको खेलमा बहराइनले हङकङलाई हराएको हो ।

 

तपाईको प्रतिक्रिया