काठमाडौं, १० कार्तिक २०८० । त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि यूएईले जितेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ४ विकेटले हराउँदै यूएईले उपाधि जितेको हो ।
सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि लिनबाट भने चुकेको छ । नेपालले जितका लागि प्रस्तुत गरेको १ सय ६३ रनको लक्ष्य युएईले एक बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो ।
युएईका कप्तान मोहम्मद वासिमले ४५, वृत्य अरविन्दले २६, आर्यन्श शर्माले २५, बसिल हामिदले अविजित २२, अलिशान शराफुले १३ तथा अली नासिरले ११ रन बनाए । नेपालका अविनाश बोहरा र गुल्सन झाले दुई–दुई तथा कुशल मल्लले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६२ रन बनाएको थियो ।