Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

काठमाडौं, १९ मंसिर । सरकारसँग वार्ता सुरु भएपछि नेपाल शिक्षक महासंघले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासंघले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ुकाठमाडौँ जाऔँ कार्यक्रम स्थगन गरेको हो।

मङ्सिर १४ गते पनि महासंघले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौंमा प्रदर्शन गरेको थियो। सो दिन छुटेको पढाइ मङ्सिर २९ गते शनिबार पूर्ति गरिने महासंघले जनाएको छ ।

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासंघले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको हो।

महासंघका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ।
रासस

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments