Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं , १९ मंसिर । सरकारले पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्थापन गरिसक्ने स्पष्ट पारेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी समेत गर्नुभयो । उहाँले कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजनसम्बन्धी ऐन मन्त्रिपरिषद बैठकमा पेस गरिएको पनि स्मरण गराउनुभयो ।

संघ, प्रदेश र स्थानीय तहबीचमा देखिएको समस्याबारे छलफल गर्न बुधबार आयोजित संघीय संसदको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै मन्त्री पण्डितले कर्मचारीलाई कर्मक्षेत्रमा पनि निष्पक्ष रुपमा खटाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

मन्त्री पण्डितले आवश्यक्ताका आधारमा मात्रै स्थानीय र प्रदेश तहमा कर्मचारीको व्यवस्थापन गर्ने योजना पनि अघि सार्नुभयो । कतिपय प्रदेश तहका कर्मचारी घाम तापेर बस्ने गरेको उल्लेख गर्दै उनीहरुलाई पनि काममा लगाउने गरी सरकारले कर्मचारीको उचित व्यवस्थापन गर्ने पनि बताउनु भयो । मन्त्री पण्डितले कार्य क्षेत्रमा जान नचाहने कर्मचारीमाथि कडा कारबाही गर्न सरकार बाध्य हुने चेतावनी पनि दोहोर्‍याउनु भयो ।

मन्त्री पण्डितले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य सहज रुपमा भइरहेको दावी समेत गर्नुभयो । उहाँले स्थानीय र प्रदेश तहमा कर्मचारीको अभाव हुन नदिन सरकारले गत असारमा नै कर्मचारीको दरबन्दी स्वीकृत गरेको दावी पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया