Online Bichar
सोमबार, फाल्गुण १४, २०८० | Monday, February 26, 2024

एजेन्सी, २८ असोज २०८० । गत शनिबारदेखि जारी इजरायल-हमास युद्धमा मृत्यु हुनेको संख्या दुवैतर्फ गरी ३५ सय नाघेको छ। इजरायली आक्रमणमा २ हजार २ सय १५ जनाको मृत्यु हुनाका साथै ८ हजार ७ सय १४ जना घाइते भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ। राष्ट्रसंघले गाजामा १३ सय भवन ध्वस्त भएको जनाएको छ। ५ हजारभन्दा बढी हाउजिङ युनिट र ३ हजार ७ सय ५० घर बस्न नसक्ने गरी क्षति भएको राष्ट्रसंघको तथ्यांक छ।

मृत्यु हुनेमध्ये ६६ प्रतिशत महिला र बालबालिका छन् । प्यालिस्टिनी अधिकारीकाअनुसार इजरायली बम हमलामा परी १५ जना स्वास्थ्यकर्मीको पनि ज्यान गएको छ।

यस्तै, हमासको आक्रमणबाट इजरायलमा मृत्यु हुनेको संख्या १३ सय पुगेको छ। जसमा विदेशीको संख्या १ सय छ। इजरायली मिसाइल आक्रमणमा रोयटर्सका पत्रकारको मृत्यु भएको छ।

इजरायलबाट हानिएको मिसाइल आक्रमणमा दक्षिणी लेबनानमा भिडियो पत्रकार इसाम अब्दुल्लाहको मृत्यु भएको रोयटर्सले जनाएको छ। उनी इजरायल-लेबनान सीमामा रिपोर्टिङ गरिरहेका बेला आक्रमणमा परेका हुन्।​

रोयटर्सका अनुसार अल्मा अल(शाबनजिकैको आक्रमणमा अल जजीरा र एएफपीका पत्रकारसमेत घाइते भएका छन्। आक्रमणमा ६ जना पत्रकार घाइते भएको समाचारमा उल्लेख छ।

कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) का अनुसार युद्धमा परी ११ जना पत्रकारको मृत्यु भएको छ। मारिनेमा ९ प्यालेस्टिनी, एक लेबनानी र एक इजरायली पत्रकार रहेका छन्।

 

तपाईको प्रतिक्रिया