Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २५ असोज २०८० । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट अन्तर्गत आज भएको खेलमा नेपालले इरानलाई दुई सय ७४ रनको विशाल अन्तरले हराएको छ ।

मलेसियामा जारी खेलमा टस हारी पहिले ब्याटिङ पाएको नेपालले ४०।१ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो । विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३०।५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो ।

इरानका दुई ब्याट्सम्यानले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । ब्याट्सम्यान सबिर इब्राहिमिपुरले अविजित ११ रन जोडे । इरानका अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नेपाली टोलीका बलर दीपेश कँडेल र सुवास भण्डारीले तीन–तीन विकेट लिए । आकाश चन्द र हेमन्त धामीले दुई—दुई विकेट हात पारे ।

त्यसअघि नेपालका लागि कप्तान देव खनालले शतकीय पाली खेलेका थिए । आक्रामक रूपमा प्रस्तुत भएका उनले केवल ६० बलको सामना गरी एक सय रन बनाएका हुन् । उनले चार छक्का र १२ वटा चौका पनि हिर्काएका थिए ।

दीपक बोहरा र देव खनालले ९८ बलमा एक सय ६६ रनको साझेदारी गरेका थिए । दीपेश कँडेलले २९ रन बनाए भने सुवास भण्डारीले अविजित १८ र हेमन्त धामीले २३ रनको योगदान गरेका थिए । आकाश चन्दले पनि १९ रन बटुलेका थिए । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि भने नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ ।

 

तपाईको प्रतिक्रिया