जनकपुर, १८ असोज २०८० । मिथिलाञ्चलको लोकपर्व जितीया पर्व आजबाट सुरु भएको छ । कठिन पर्वको रुपमा रहेको जितीया पर्वमा सन्तानको दिर्घायुको कामना गर्दै महिलाले उपवास गरी यो पर्व मनाउने गर्छन् । यो पर्व मिथिलाञ्चल क्षेत्र एवं थारु बसोबास क्षेत्रमा मनाइने गरिन्छ । आश्विन कृष्ण सप्तमी तिथिबाट आरम्भ हुने यो पर्व तीन दिनसम्म मनाइन्छ । पर्वको पहिलो दिन नुहाएर चोखो हुनेगरिन्छ जसलाई नहाय खाय विधि भन्ने गरिन्छ ।
पर्वमा च्यूरा दहीदेखि माछा र मरुवा (कोदो) सम्म खाने चलन रहेको छ । यस्तै यो पर्वमा उपवासको निकै महत्व हुन्छ । ब्रत बस्ने अष्टमी तिथिका दिन थुक पनि निल्न नहुने अन्यथा व्रत भंग हुने मान्यता रहेको छ । पर्वको तेस्रो दिन पारायण गरी जितिया पर्वको समापन गरिन्छ ।