Online Bichar
मंगलबार, फाल्गुण २२, २०८० | Tuesday, March 5, 2024

काठमाडौं, १० असोज २०८० । एसियन गेम्सअन्तर्गतको पुरुष क्रिकेटमा नेपालले मंगोलियामाथि विश्व किर्तीमानसहितको जित निकालेको छ । समुह ‘ए’ को पहिलो खेलमा नेपालले मंगोलियालाई २ सय ७३ रनले पराजित गर्‍यो । टि ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा रनको आधारमा यो अहिलेसम्मकै फराकिलो जित हो ।

टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर ३ सय १४ रन बनायो । नेपालका लागि कुशल मल्लले अविजित १ सय ३७ रन बनाउँदा कप्तान रोहित कुमार पौडेलले ६१ रन तथा दिपेन्द्र सिंह ऐरीले अविजित ५२ रन बनाए ।

नेपालले बनाएको ३ सय १४ रन टि–ट्वेन्टी अन्तराष्ट्रियकै विश्व किर्तीमान हो । टि–ट्वेन्टीमा अहिलेसम्म कुनैपनि देशले ३ सय रन पार गर्न सकेका छैनन् । यसैगरि कुशलले बनाएको ३४ बलको शतक पनि टि–ट्वेन्टीतर्फको विश्व किर्तीमान हो ।

९ बलमा अर्धशतक प्रहार गरेका दिपेन्द्र सिंह ऐरीले पनि सर्वाधिक कम बलमा अर्धशतक बनाउने किर्तीमान राखेका छन् । यसअघि उक्त किर्तीमान भारतका युवराज सिंहको नाममा १० बलको थियो । दिपेन्द्रले लगातार ६ छक्का प्रहार गरेका थिए ।

जवाफमा ३ सय १५ रनको लक्ष्य पछ्याएको मंगोलियाले १३ ओभर १ बलमा अलआउट हुनुपूर्व ४१ रन मात्रै जोड्न सक्यो । मंगोलियालाई सस्तैमा समेट्न नेपालका करण केसी, अविनाश कोहोरा र सन्दिप लामिछानेले २–२ विकेट लिए ।

समुहको दोस्रो खेलमा नेपालले अक्टोबर १ तारिखमा माल्दिभ्सको सामना गर्नेछ । क्रिकेटतर्फ भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकालाई सिधै वाटरफाइनलमा राखिएको छ ।

 

तपाईको प्रतिक्रिया