Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

दमक, ६ असोज २०८० । झापाको दमक नगरपालिका-९ स्थित कदम थिएटरको पाङ्वाईला हिममा नाटक ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन हुने भएको छ  ।

दोस्रो विश्वयुद्धताका बर्मामा जापानी सेनाको आक्रमणपछि ज्यान जोगाउन लिखापानी भाग्ने क्रमको नेपाली मुलकाहरुको जीवन भोगाइलाई साहित्यकार इन्द्रबहादुर राईले कथा लेखेका थिए । सोही कथालाई नाटकीकरण गरेर रंगकर्मी जीवन बरालको निर्देशनमा कदम थिएटरका पहिलो ब्याचका कलाकारहरूले अभिनय गर्दैछन् ।

नाटक यही असोज १२ गते देखि हरेक साँझ ५ः१५ बजे कदम थिएटरमा मञ्चन हुनेछ । कदम थिएटरले गएको जेठ २४ गते देखि रंगमञ्चको आधारभूत कार्यशाला सञ्चालन गरेको थियो । सोही कार्यशालाको अन्त्यमा नाटक “जयमाया आफू मात्र लिखापानी आइपुगी” को मञ्चन गर्नका लागि पूर्वाभ्यास भईरहको कदम थिएटरका महासचिव कमन देवानले जानकारी दिए । देवान भन्छन्, यो नाटक हाम्रै परिवेशको नियति, बाध्यता र दुःखका कथा हो । हामीले भोगेका, भोग्न परेका शरणार्थी व्यथाभित्र कतै न कतै जयमायाहरू बाँचिरहेकै छन्, होलान् । पूर्वी नेपालका बेलडाँगी, पथरी शनिश्चरे अझै यी व्यथाका साक्षी छन् ।

यस नाटकमा अनिल दुलाल, आयुुश खतिवडा, पारुमा राई, पुनम भुजेल, पुष्प राई,भरत मगर, नवीन भण्डारी, नवीन रिजाल, रश्मि उप्रेती, रोशन मुर्मु, विवेक राउत र सञ्चिता लामाले अभिनय गरेका छन् भने नाट्य आलेख रंगकर्मी सिजन दाहालले तयार पारेका हुन् । कदम थिएटरका कलाकार मनिक शंकरले मञ्च परिकल्पना गरेका छन् । कार्यशालाका सहभागीलाई कलाकार बनाएर नाटक मञ्चन गर्न सम्म आइपुग्दा मौसम राना राई, सुवास खरेल, चोमु शेर्पा खुसी “पाण्डेय”, सुमन कुइँकेल, कृष्ण काश्यप, राजेन्द्र अधिकारी, राजा श्रेष्ठ, दीपक खरेल, मनिक शंकर लगायतले कार्यशालाको सहजीकरण गरेका थिए ।

कार्यशालाका मुख्य सहजकर्ता रंगकर्मी जीवन बरालका अनुसार यस कथालाई नाटकको रुपमा रूपान्तरण गरिरहँदा अहिलेको समयमा हाम्रो समाजले भोग्दै गरेको नियतिलाई छुने गरी तयार पारिएको छ । निर्देशक बरालले २० वर्ष भन्दा धेरै नेपाली रंगमञ्चमा काम गर्दै आईरहका छन् भने, घामड शेरे, प्रेम गीत ३, महानगर, निरफूल, लगायतका एक दर्जन बढी नेपाली सिनेमामा अभिनय गरिसकेका छन् भने आधा दर्जन भन्दा बढी नाटकको निर्देशन गरिसकेका छन् ।

 

तपाईको प्रतिक्रिया