Online Bichar
मंगलबार, आषाढ ०५, २०८१ | Tuesday, June 18, 2024

काठमाडौँ, २३ भदौ २०८० । मोरक्कोमा शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा ८ सय २० पुगिसकेको छ । साथै कम्तीमा ६ सय ७२ घाइतेको उद्धार गरिएको छ ।

अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा रहेको हाई एटलस माउन्टेनलाई केन्द्रबिन्दु बनाएर शनिबार ६।८ म्याग्निच्यूडको भूकम्प भएको हो ।

भूकम्पको गहिराइ १८.५ किलोमिटर रहेको बताइएको छ । भूकम्पमा परी मृत्यु हुनेको संख्या ८ सय २० पुगेको छ भने हालसम्म ६ सय ७२ जना घाइते भएको बीबीसीको समाचारमा छ । मोरक्कोका आन्तरिक मामिला मन्त्रालयले पनि मृत्यु हुने र घाइतेको संख्या पुष्टि गरेको छ ।

भूकम्पको धक्काबाट थुप्रै भवन तथा भौतिक संरचना भत्किएका छन् । कतिपय भत्किएका भवनमा मानिसहरू पुरिएर रहेको हुनसक्ने आकलन गरिएको छ ।

भूकम्पबाट ठूलो संख्यामा मानिसहरू घाइते भएपछि उपचारको क्रममा रगत अभाव हुँदा रक्तदानका लागि माराकेसस्थित सयौं मानिस लामबद्ध भएका छन् । रक्तदान केन्द्रमा एम्बुलेन्स नै लगेर रगत संकलन गरिएको पनि स्थानीय मिडियाले जनाएका छन् ।

यस्तै घाइतेहरूको उपचारका लागि रगत अभाव हुनसक्ने भन्दै स्वास्थ्यकर्मीहरूले रक्तदानको लागि आह्वान गरेका छन् । घाइतेहरूको उद्धारका लागि सरकारी अधिकारीसहित स्वयंसेवकहरू खटिरहेका छन् । यद्यपि कतिपय मानिसहरू भत्किएका भवनहरूमा पुरिएर रहेको हुनसक्ने स्थानीय मिडियाले जनाएका छन् ।

भूकम्पका कारण मोरक्कोमा भएको क्षतिप्रति दुस्ख व्यक्त गर्दै थुप्रै देशका प्रमुखहरूले समवेदना प्रकट गरेका छन् । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनाप्रति गहिरो समवेदना प्रकट गर्दै ऐकवद्धता व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सन्देश लेख्दै घाइतेहरूको शिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । साथै मोरक्कोले ब्यहोर्नुपरेको पीडाप्रति युक्रेनले ऐकवद्धता प्रकट गरेको जेलेन्स्कीले जनाएका छन् ।

यस्तै टर्कीका राष्ट्रपति रिसेप तायीप एर्दोगानले मोरक्कोलाई सहयोगको घोषणा गरेका छन् । उनले सहयोगका लागि आफूहरू तयार रहेको भन्दै घटनाप्रति दुस्ख व्यक्त गरेका छन् । ‘हामी हाम्रा मोरक्कन दाजुभाइहरूलाई हरेक कठिन समयमा सहयोग गर्नेछौं,’ एर्दोगानले सामाजिक सञ्जाल एक्स (ट्विटरको परिस्कृत रुप०)मार्फत् भनेका छन् ।

यस्तै रेडक्रसको अन्तर्राष्ट्रिय महासंघले मोरक्कोमा २४ देखि ४८ घन्टाको अवधिमा आपतकालीन उद्धार टोली खटाउन सकिने जनाएको छ । यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि मोरक्कोका जनताको पीडा र शोकप्रति ऐकवद्धता र समवेदना व्यक्त गरे ।

मोरक्कोमा भूकम्पपछि सुनामीको खतरा भने कसैले औल्याएको छैन । भूकम्पपछि दर्जनौं परकम्पहरू गए पनि त्यसले सुनामी निम्त्याउने प्रक्षेपण गरिएको छैन । ती परकम्पहरूले पहिलो भूकम्पभन्दा सानो धक्का दिइरहेका छन् ।

मोरक्कोमा यसअघि पनि विभिन्न समयमा शक्तिशाली भूकम्पले ठूलो क्षति पुर्‍याएका थिए । २००४ मा शक्तिशाली भूकम्प जाँदा ६ सय २८ जनाको मृत्यु भएको थियो । त्यस्तै १९६० को शक्तिशाली भूकम्पमा १२ हजारको ज्यान गएको थियो ।

 

तपाईको प्रतिक्रिया