Online Bichar
शुक्रबार, आश्विन १८, २०८१ | Friday, October 4, 2024

अमलेखगञ्ज (बारा), २३ भदौ २०८० । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाअन्तर्गत दोस्रो चरणको काम तीव्र गतिमा अगाडि बढेको छ । आगामी चैतसम्म पाइपलाइनबाट पेट्रोल र मट्टितेल ल्याउने उद्देश्यका साथ निर्माणको कामलाई तीव्रता दिइएको नेपाल आयल निगमले जनाएको छ ।

दोस्रो चरणको कामअन्तर्गत अहिले पेट्रोल भण्डारण ट्याङ्क, ट्रान्समिक्स ट्याङ्क, पम्प हाउस, पेट्रोलको लोडिङका लागि २४ वटा पूर्ण स्वचालित लोडिङ वे (रिफिलर) लगायत भौतिक संरचनाको निर्माण भइरहेको छ । अहिले ‘म्यानुअल’रुपमा पेट्रोलियम पदार्थको लोडिङ हुँदै आएको छ । दोस्रो चरणको परियोजनाको निर्माण भारतीय कम्पनी लिखिता इन्टरनेशनलले गरिरहेको छ ।

परियोजनाको पहिलो चरणको कार्यअन्तर्गत अहिले भारतको मोतिहारीबाट अमलेखगन्जसम्म पाइपलाइनमार्फत डिजेल आयात भइरहेको छ । दोस्रो चरणमा पाइपलाइनबाट पेट्रोल र मट्टितेल आयात गर्ने लक्ष्य रहेको निगमको अमलेखगञ्ज डिपोका प्रमुख विनितमणि उपाध्यायले बताउनुभयो । “यो लक्ष्यअन्तर्गत पेट्रोल र मट्टितेल भण्डारण ट्याङ्क अपुग हुने भएकाले अहिले आइओसीले त्यसको पूर्वाधार निर्माण गरिरहेको छ”, उहाँले भन्नुभयो ।

डिपोमा पेट्रोल भण्डारणका लागि चार हजार एक सय किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याङ्क तथा डिपो सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताका दुई वटा पानी टयाङ्की तथा दुई सय ५० किलोलिटर क्षमताका दुई वटा ‘ट्रान्समिक्स ट्याङ्क’ निर्माण भइरहेको छ । एउटै पाइपलाइनबाट क्रमशः डिजेल, मट्टितेल र पेट्रोल एकपछि अर्को ल्याउँदा मिसिएको पेट्रोलियम पदार्थको छुट्टै भण्डारण गर्न ट्रान्समिक्स ट्याङ्क निर्माण गरिएको निगमका इञ्जिनियर प्रशान्त भट्टराईले जानकारी दिनुभयो ।

दोस्रो चरणको परियोजनाका लागि निगम र आइओसीले संयुक्तरूपमा लगानी गर्नेगरी सम्झौता भएको थियो । जसअन्तर्गत दुई वटा पेट्रोल ट्याङ्कमध्ये निगम र आइओसीले एकरएक वटा ट्याङ्कको लागत व्यहोर्ने छन् । मिश्रित इन्धन राख्नका लागि दुई वटा ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि ‘फायरवाटर’ ट्याङ्क भारतीय पक्षबाट निर्माण हुनेछ । आइओसीले करिब ७५ करोड भारतीय रुपैयाँ खर्च गर्नेछ ।

निगमले भने एउटा पेट्रोल ट्याङ्क, २४ वटा रिफिलर, प्रयोगशाला, फायरफाइटिङ सिस्टमलगायत पूर्वाधार निर्माण गर्नेछ । निगमको एक अर्ब ५४ करोड भारतीय रुपैयाँ बराबरको खर्च हुने अनुमान छ । सिभिल संरचनाअन्तर्गत विभिन्न उपकरण जडानका लागि भवन तथा पेट्रोलियम पदार्थको शुद्धता परीक्षणका लागि अत्याधुनिक प्रयोगशाला पनि निर्माण भइरहेको छ । परियोजनाको हालसम्मको प्रगति करिब ४० प्रतिशत रहेको प्रमुख उपाध्यायले जानकारी दिनुभयो ।

“अहिले बर्खाको समय भएका कारण काम सुस्त भएको हो, तर केही समयपश्चात् निर्माणकर्ताले जनशक्ति थप गरेर काम गर्ने जनाएको छ । दोस्रो चरणका काम निर्धारित समयमै सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । परियोजनाको काम तोकिएका समयमै सम्पन्न गर्न रात्रि सयममा पनि काम गर्ने ठेकेदार पक्षले जनाएको छ । निर्माण सुरु भएको करिब ५५ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

दोस्रो चरणको परियोजनाको सम्पूर्ण खर्च करिब दुई अर्ब १५ करोड भारतीय रुपियाँ छ । दोस्रो चरणको परियोजना निर्माण भएपछि समग्ररुपमा मुलुकलाई नै फाइदा पुग्ने निगमले जनाएको छ ।

तपाईको प्रतिक्रिया