Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

काठमाडौँ, १७ मङ्सिर । लगानीकर्ताले आगामी २३ गतेदेखि अनलाइन सेयर कारोबारको सुविधा पाउने भएका छन्। कात्तिक २० देखि अनलाइन सेयर कारोबार सुरू भए पनि लगानीकर्ताले ब्रोकर कार्यालयमार्फत् कारोबार गर्दै आएका छन्।

नयाँ प्रणाली भएकाले ब्रोकर कार्यालयलाई अभ्यस्त गराएपछि मात्रै लगानीकर्तालाई यो सुविधा दिइन लागेको हो। नेप्सेले अनलाइन कारोबारबारे लगानीकर्तालाई तालिम दिइरहेको छ। बिहीबारसम्म दिउँसो ३ र शुक्रबार १२ बजे नेप्सेमा गई लगानीकर्ताले तालिम लिन सक्छन्।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले तालिम दिइसकेपछि २३ गतेदेखि लगानीकर्तालाई ‘युजर नेम’ र ‘पासवर्ड’ प्रदान गरिने जानकारी दिए।

‘ब्रोकर कार्यालयमा प्रक्रिया पूरा हुनुपर्‍यो, लगानीकर्ताले अर्को साताबाट कारोबार गर्न पाउँछन्’ पराजुलीले भने।

बजार बन्द भएका बेला लगानीकर्तालाई भिडियो देखाएर तालिम दिने काम नेप्सेले गर्दै आएको छ। पराजुलीका अनुसार ५०(५० जनाको समूहलाई प्रत्येक दिन तालिम दिइँदै आएको छ। लगानीकर्तालाई घरमै बसेर पनि कारोबार गराउनका लागि भिडियो तयार गरिएको पराजुलीले बताए।

अनलाइनबाट सेयर कारोबार गर्न लगानीकर्ताले सबैभन्दा पहिले ब्रोकर कार्यालयमा ‘केवाइसी अपडेट’ गराउनुपर्नेछ। केवाइसी अपडेट गराएपछि लगानीकर्तालाई दिइएको लिंकमार्फत् आफ्नो किनबेचको आदेश आफैंले पोष्ट गर्न सक्नेछन्। बीचैमा आदेश रद्द गर्न वा परिवर्तन गर्न पनि सकिनेछ।

अनलाइन कारोबार सुरू भए पनि आफ्नो हातले गर्न नपाएको भन्दै लगानीकर्ताले यसअघि नेप्से र धितोपत्र बोर्डको कार्यालय घेरेर विरोध जनाएका थिए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments