Online Bichar
बिहिबार, बैशाख २७, २०८१ | Thursday, May 9, 2024

काठमाडौँ, १४ भदौ २०८० । विद्युतीय चुरोट (भेप) मा लुकाएर भित्र्याइएको तस्करीको सुन प्रकरणमा जोडिएका पूर्वसभामुख एवं सत्तारूढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई बुधबार काठमाडौंबाट पक्राउ गरेको हो । यही प्रकरणमा पूर्वसभामुख महरासमेतलाई अनुसन्धानको दायरामा ल्याइने सीआईबीले जनाए पनि उनलाई निगरानीमा मात्रै राखिएको छ ।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको खुलिसकेको छ ।

प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले भेपमा लुकाएर ल्याएको सुन प्रकरणको अनुसन्धानका क्रममा राहुललाई पक्राउ गरिएको बताए । बाबुछोराविरुद्ध संगठित अपराध कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तर, स्वास्थ्य अवस्थाको कारण देखाई बाबु महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखेको छ । ‘यो विषय अनुसन्धानकै क्रममा भएकाले थप बोल्न मिल्दैन,’ सीआईबीका एसपी नवराज अधिकारीले भने ।

महराले अर्का छोरा निर्मलका नाममा रहेको मोबाइलबाट तस्करीमा संलग्न हाल फरार चिनियाँ नागरिक लुई हानसोङसँग ११ पटक सम्पर्क गरेको सीआईबीले किटान गरेर प्रतिवेदन तयार पारिसकेको छ । सुन तस्कर दाओजिन वाङले पनि महरालाई ११ पटक फोन सम्पर्क गरेका थिए । त्यही बेला महराका अर्का छोरा राहुलसँग २८ पटक सम्पर्क भएको देखिन्छ । राहुललाई सुन तस्कर दाओजिन वाङले ६४ पटक र राहुलले दाओजिनलाई १ सय ३१ पटक सम्पर्क गरेको देखिन्छ । अर्का चिनियाँ तस्करलाई राहुलले ३ पटक सम्पर्क गरेका थिए । राहुलले नै फरार अर्का व्यक्ति लोकेन्द्र पौडेललाई ३६ पटक सम्पर्क गरेको देखिन्छ ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया