Online Bichar
शनिबार, भाद्र २७, २०८३ | Saturday, September 12, 2026

पोखरा, १५ मंसिर । ‘विदेश जान चाहनुहुन्छ ? त्यसो हो भने हामीलाई सम्झनुहोस्’ लेखिएको पोस्टर चिप्लेढुंगा(महेन्द्रपुल सडक छेउका अधिकांश बिजुलीका पोलमा छन् । अर्को पोलमा बैदेशिक अध्ययनमा जानेका लागि आयोजना गरिएको सेमिनारकोे विज्ञापनिक पोस्टर छ । सँगै अर्को बिजुलीको पोलमा ‘जाने हैन त अमेरिका ? ईडीभी खुल्यो’ लेखिएको बोर्ड टाँगिएको छ ।

शनिबार स्वतस्फूर्त सडकमा निस्किएका युवाहरुले तिनै पोलमा टाँसे, ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई न्यायको माग गर्दै युवाहरुले बिजुलीका पोल र सडक छेउका बारमा पोस्टर टाँसेका थिए ।

युवाले अघिअघि पोस्टर टाँस्दै गए, पछिपछि प्रहरीले च्यात्दै गयो । फेरि झलक्क देखियो वैदेशिक रोजगारीका विज्ञापन । न्यायका निम्ति आवाज उठाउँदै आएका युवाले भने, ‘यहाँ युवालाई विदेश पठाउने कम्पनीका पोस्टर टाँसिन्छ र निर्मलाहरुका निम्ति न्याय माग्दै टाँसिएका पोस्टर च्यातिन्छ ।’

अर्का युवा रुपिन्द्र प्रभावीले थपे, ‘च्यातिनुपर्ने पम्लेट सुरक्षित राखेर यो सरकार निर्मलाहरुको अनुहार च्यात्छ ।’

पोखराको मानवअधिकार चोकदेखि महेन्द्रपुलसम्म ‘निर्मलाको निम्ति न्याय’ लेखिएका पोस्टरहरु धेरै टाँसिए तर, प्रहरीले च्यातिदियो । काठमाडौंमा शुक्रबार प्रहरीले निर्मलाको तस्वीर भएको पम्लेट मात्रै च्यातेन, टाँस्नेलाई गिरफ्तार नै गर्‍यो ।

त्यसको भोलिपल्ट शनिबार पोखराका युवाहरु सरकारविरुद्ध आक्रोस पोख्दै स्वतफूर्त सडकमा उत्रिएका थिए ।

‘यो देशमा ‘दुई तिहाई’को राजमा बलात्कार गर्न पाइन्छ, मान्छे मार्न पाइन्छ तर, न्याय माग्न पाईँदैन,’ इन्जिनियर डा। वसन्त गौतम चिच्याए, ‘न्यायको माग गरिएको पोस्टर च्यातेर कस्तो शान्ति सुरक्षा कायम गर्दैछ यो सरकार ?’

न्याय माग्दै देशभर निस्किएको आवाजलाई दबाएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै युवाहरुले सरकारको आलोजना गरे । उनीहरुले केपी ओली नेतृत्व सरकारको विरुद्धमा नारामात्रै लगाएनन्, गृहमन्त्री रामबहादुर थापाको राजीनामा मागेका छन् । केही युवाको विरोधलाई नियन्त्रण गर्न र टाँसिएका पोस्टरहरु च्यात्न २ डीएसपी र पाँच इन्स्पेक्टरको नेतृत्वमा प्रहरी सडकमा तैनाथ थिए ।

पोस्टर टाँस्ने र च्यात्ने दौडधुप नै चल्यो । प्रहरी र युवाबीच भनाभन जस्तै भयो । युवाहरुले प्रश्न गर्थे ‘न्याय माग्न नपाइने, यो कस्तो राज्य हो ?’ प्रहरी भन्थ्यो, ‘माथिको आदेश छ । पोस्टर टाँस्न नदिनू ।’ सरकारले न्याय दिनुको सट्टा झन् पीडितको मनमा आगो झोसेको’ भन्दै सञ्जीव पौडेलले आक्रोस पोखे ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका डिएसपी नवीन कार्कीको टोलीले विपी चोकको आइल्यान्डमा टाँसिएका पोस्टर च्यातेर फाले । युवाले प्रहरीलाई प्रश्न गरे ‘यो पोस्टर किन च्यातेर फालियो ? प्रहरी अधिकारीले भने, ‘भित्तामा फोहोर भएर फालिएको हो ।’

विश्वराज पौडेलले भने, ‘व्यावसायिक ब्यानर, होडिङ बोर्डले सहर फोहोर गरेको नदेख्ने तर, न्यायको लागि लडिरहेको पीडितको पोस्टर फोहोर देख्ने कस्तो प्रहरी संगठन हो ।’
घटनाको दोषीलाई सरकारले चिनेको तर शक्तिको आडमा कारबाही गर्न नसकेको आरोप उनीहरुको छ ।

सरकारले रुँदै न्याय माग्नेलाई झक्याएर दोषीलाई लुकाउन खोजेको भन्दै अर्का युवा सुरज उपाध्यायले आक्रोस पोखे । ‘हामी निर्मलाको न्यायको पोस्टर टाँस्टै हिड्यौं । उनीहरु उप्काउँदै हिँडे’ सौगात पोखरेलले प्रश्न गरे, ‘यो सरकार निर्मलाको हत्यारा समाउन छाडेर न्याय माग्नेमाथि किन दमन गरिरा’छ ?

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments