Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

बैठक छाडेर नगर प्रमुख बाहिरिएपनि उपप्रमुखको अध्यक्षतामा बैठक सम्पन्न

झापा, १३ मंसिर । झापाको गैरादह नगरपालिकामा नगर प्रमुखले कार्यपालिकाको बैठक बिचैमा छाडेर बाहिरिएपछि उपप्रमुखको अध्यक्षतामा बैठक सम्पन्न भएको छ ।

कार्यपालिका वैठकमा आज पेश भएका पूर्व निर्धारित प्रस्तावमा छलफल चलिरहदा नगर प्रमुख रोहित शाहा अचानक वैठक स्थगन गर्नुपर्ने भन्दै असन्तुष्टी राखेर वैठकबाट बहिरिएका थिए ।

नगर प्रमुख शाहा वैठकबाट बहिरिएपनि उपप्रमुखको अध्यक्षतामा सो वैठकलाई अघिबढाउदै महत्वपूर्ण निर्णयहरु गरिएको बैठक सम्पन्न भएपछि संचारकर्मीहरुलाई जानकारी गराईएको छ ।

उपप्रमुख गीता भेट्वालको अध्यक्षतामा सम्पन्न सो कार्यपालिका बैठकले चारवटा अत्यावस्यक कार्यविधि र नियमावलीहरु पास गरेको नगरका प्रवक्ता नगेन्द्र भण्डारीको बताए ।

स्थानीय सरकार संचालन भएको १७ महिना बितिसक्दा पनि गौरादह नगरपालिकाले हाल सम्म नगर संचालन संवन्धि आवस्यक ऐन,कानुन, नियमावली तथा कार्यविधिहरु प्रमाणिकरण तथा राजपत्रमा प्रकाशन गर्न सकेको छैन् ।
नगरप्रमुखले आफ्नै अध्यक्षतामा सम्पन्न नगर सभा तथा कार्यपालिकाको बैठकमा छलफल गरि ४ महिना अघि नै पास गरेका ७ वटा कार्यविधि तथा ६ वटा ऐन अहिले सम्मपनि प्रमाणिकरण नगरेर नगरपालिकालाई नगर प्रमुखले अनिर्णयको बन्दी बनाएको प्रबक्ता भण्डारिले बताए ।

सो वैठकले “गौरादह नगरपालिकाका पदाधिकारीहरुको आचारसंहिता २०७५”, र “गौरादह नगरपालिकामा करारमा प्राविधिक कर्मचारी ब्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७५” तथा “गौरादह नगरपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणिकरण कार्यविधि नियमावली २०७५” र “गौरादह नगरपालिकाको वैठक संचालन सम्बन्धी कार्यविधि २०७५” गरी चारवटा कार्यविधि पास गरेको कार्यपालिका सदस्य छत्रपति सुवेदीले बताए ।

गौरादह नगरपालिकामा कार्यपालिकाको वैठकले सबै निर्णयहरु सर्बसम्मत रुपमा गर्दै आएको तर आजको निर्णय नगर प्रमुखले बिनाकारण बैठक छाडेर हिडेपछि बाध्यभएर गर्नुपरेको उपप्रमुख भेट्वालले बताइन् । उनका अनुसार नगर प्रमुख शाहाले नगरसभाका निर्णय र कार्यपालिकाका निर्णयहरुलाई प्रभावित गर्नेगरेको र पास भएका ऐन, नियमावली र कार्यविधिहरु प्रमाणिकरण गर्न नमानेकोले नगरपालिका कतिपय कानुनी समस्या झेल्न बाध्य छ । जसले गर्दा ऐन कानुनको अभावमा नगरको चुस्त कार्य सम्पादनमा र नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न कठिनाई हुनेगरेको भेट्वालको भनाइ छ ।
नगरप्रमुखको अनुपस्थितिमा गरिएको बैठकको निर्णयको बैधानिकता के हुने भन्ने प्रश्नको उत्तर दिंदै उपप्रमुखले भनिन यो निर्णय जनताको हित र आवस्यकता तथा नगरपालिकाको कार्यसम्पादनलाई ब्यवस्थित गर्न बाध्य भएर गर्नु परेकोले आवस्यक बैधानिकता पूरा गरिएको छ । यस सम्बन्धमा बिस्तृत समचार तयार पार्न फोन सम्पर्क गर्दा नगर प्रमुख शाहा संग सम्पर्कहुन सकेन ।

तपाईको प्रतिक्रिया