Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

टिब्लीसी, १३ मंसिर  । जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।

सत्तारुढ दलका तर्फबाट उम्मेदवार भएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति भएकी छन् ।

करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्वकूटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गरेकी छन् ।

राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् ।

११ विपक्षी दलको गठबन्धनबाट उम्मेदवार भएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गरेका छन् ।

हाल निर्वासनमा रहेका पूर्वराष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो ।

यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास र जनताको अभिरुचि परीक्षणकारुपमा पनि हेरिएको छ । जर्जियाले युरोपेली युनियन र नेटोको सदस्यताका लागि पहल गरिरहेको छ ।

साथै, सन् २०२० मा हुने संसदीय निर्वाचनलाईसमेत यसपटकको राष्ट्रपतीय निर्वाचनले प्रभाव पार्नेछ । उक्त चुनावमा सत्तारुढ जर्जियन ड्रिम पार्टीले धेरैओटा विपक्षी दलहरुसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।

जर्जियन ड्रिम पार्टीले जुराबिशभिलीलाई राष्ट्रपतिका लागि समर्थन गरेको छ ।

नवनिर्वाचित ६६ वर्षीया जुराबिशभिली रुसी रेड आर्मीले जर्जियालाई रुसमा विलय गरेपछि सन् १९२१ मा पेरिसतर्फ निर्वासित भएका एकजना जर्जियाली शरणार्थीकी छोरी हुन् । उनी जर्जियाको स्वतन्त्र सांसद पनि थिइन् ।

पूर्वराष्ट्रपति साकाशभिलीले उनलाई विदेशमन्त्रीमा नियुक्त गरेका थिए ।

तर, एक वर्ष नतिब्दै पार्टीभित्रको द्वन्द्वका कारण उनलाई विदेशमन्त्रीबाट हटाइएको थियो । उनको समर्थनमा हजारौंले राजधानी टिब्लीसीमा विरोध प्रदर्शन पनि गरेका थिए ।

गत अक्टोबर २८ मा भएको पहिलो चरणको चुनावमा जुराबिशीभिलीले ३९ प्रतिशत र अर्का उम्मेदवार भाशाजले ३८ प्रतिशत मत प्राप्त गरेका थिए ।

जर्जियामा ३५ लाख मतदाता रहेका छन् । निर्वाचनमा करिब ५६ प्रतिशत मतदान भएको थियो ।

रासस

तपाईको प्रतिक्रिया