काठमाडौं, १० साउन २०८० । १९ औं एशियाली खेलकुदमा पदक जित्न सक्ने खेलको सूचीमा पहिलो प्राथमिकतामा रहेको नेपाली बक्सिङले विशेष प्रशिक्षण सुरु गर्ने भएको छ ।
आगामी सेप्टेम्बर २३ देखि चीनको हानझाउ शहरमा १९औं एसियाड सुरु हुँदैछ । सोही एसियाडमा नेपालको बक्सिङसहित तेक्वान्दो र करातेलाई पदक सम्भावनाको खेल रहेको भन्दै राष्ट्रिय खेलकुद परिषद्ले पहिलो प्राथमिकता राखेर तयारी गर्दै आइरहेको छ । सोहीअन्तर्गत पछिल्ला केही महिनादेखि नेपालीको बक्सिङ टोलीले तयारी शुरु गर्दै आइरहेको हो । भारतीय प्रशिक्षक शिव सिंहको नेतृत्वमा रहेको प्रशिक्षण टोलीमा दीपक महर्जन, राज श्रेष्ठ र प्रवीण तुलाधर छन् । राखेपले १९औं एसियाडमा खेल्ने खेलको टुङ्गो लगाउँदा नै प्राथमिकतामा राखेको तीन खेललाई विशेष तयारी गराउने उद्घोष गरेको थियो ।
उक्त विशेष तयारीअन्तर्गत आवश्यक परेको खण्डमा विदेशी प्रशिक्षक, वैदेशिक प्रशिक्षण र म्याचएक्सपोजर जस्ता मुख्य पक्षहरू समावेश गर्ने लगायत राखेपका योजनामा थिए । पहिलो प्राथमिकतामा रहेका तीन खेलमा पूर्ण कोटामा प्रतिष्पर्धा गराउने योजनाअनुरूप नेपालको १३ बक्सरले आगामी एसियाडमा प्रतिष्पर्धा गर्दैछ । पोखरामा एक हप्ताको प्रशिक्षण र भारतको पञ्जावका बक्सरसँग मैत्रीपूर्ण प्रतियोगिता खेलेपछि नेपालको बक्सिङ टोलीले वैदेशिक प्रशिक्षणको यात्रा थालेको छ ।
१९ औं एशियाली खेलकुदको तयारीका लागि नेपाली बक्सिङ टोलीले भारतमा नै प्रशिक्षण गर्ने भएको हो । एक महिना विशेषण जुलाई २७ देखि अगस्ट २७ सम्म भारतको पञ्जावमा हुनेछ । पन्जाब इन्स्टिच्युट अफ स्पोर्ट्स पटियालाको टोलीसँग प्रशिक्षणका साथै मैत्रीपूर्ण खेल पनि खेल्ने योजनामा रहेको प्रशिक्षक दीपक महर्जनले जानकारी दिए । उक्त विशेष प्रशिक्षणका क्रममा नेपाली टोलीले भारतका लागि क्युबाका प्रशिक्षक फर्नान्डेज र अन्य भारतीय प्रशिक्षकसँग पनि प्रशिक्षण गर्ने कार्यक्रम रहेको नेपाल बक्सिङ महासंघले जनाएको छ ।