Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

ठिनी,१३ मङ्सिर ।  मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोममा बिहिबार बिहान एक घरमा आगलागी हुँदा डेढ करोडभन्दा बढीको क्षति भएको छ। स्थानीयवासी मिमप्रसाद थकालीको दुईतले घरमा आगलागी हुँदा एक करोड ६५ लाख मूल्य बराबरको धनमालको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार घरमा भएका लत्ताकपडा, खाद्यान्न लगायतका धनमाल जलेर रु एक करोड ५० लाखको क्षति भएको हो। यसैगरी सोही घरमा सागर नेपालीले सञ्चालन गरेको दर्शन फर्निचर उद्योगमा पनि रु पन्ध्र लाखको क्षति पुगेको अनुमान गरिएको छ।

नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, जनप्रतिनिधि, स्थानीयवासीले तीन घण्टापछि बिहान ६ बजेतिर आगलागी नियन्त्रणमा लिएका थिए। विद्युत् सर्ट अथवा आगोको झिल्कोबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीले बताए।

पीडितलाई जिल्ला विपद् व्यवस्थापन समिति र प्रदेश सरकारको कोषमार्फत राहतको व्यवस्था मिलाइने गण्डकी प्रदेशसभा सदस्य चन्द्रमोहन गौचनले बताए।

रासस

तपाईको प्रतिक्रिया