झापा, ९ साउन २०८० । झापामा जेठ १ देखि साउन ७ गते सम्मको अवधि भित्र पानीमा डुबेर १० जनाको मृत्यु भएको छ । सो अवधिमा ३ जना बालक, ४ जना युवा युवती, २ जना वृद्ध र १ जनाको पहिचान नखुलेको गरी १० जनाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका वडा नं. १० बस्ने मन बहादुर राईको छोरी अन्दाजी २६ वर्षीया कमला राई जेठ १ गते घरबाट गाई, वस्तु चराउन गएको बेला कनकाई सिँचाई नहरको शाखा नहरको पानीमा घोप्टो परेको अवस्थामा प्रहरीले मृत फेला पारेको थियो ।
इलाम माई नगरपालिका वडा नं. ८ स्थित रहेको सतासी झर्नाको दहमा जेठ १३ गते साथीसँग घुम्न भन्दै गएका झापा कमल गाउँपालिका वडा नं. ५ पाडाजुँगी बस्ने टेक बहादुर भण्डारीको छोरा वर्ष २१ को निश्चल भण्डारीलाई पौडी खेल्ने क्रममा माथिबाट डाईब हान्दा पानीमा डुबी मृत्यु भएको थियो ।
यस्तै, शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित रहेको दोमुखा ड्याममा जेठ १९ गते कनकाई नगरपालिका वडा नं. २ बस्ने दुर्गा गुरागाईँको छोरा अन्दाजी १८ वर्षीय सलिन गुरागाईँ पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको थियो ।
जेठ २९ गते भद्रपुर नगरपालिका वडा नं. ९ शान्ति चौक बस्ने वर्ष ७५ को जीवन थापा मगर मेची क्याम्पस भद्रपुरको पूर्व पट्टी जमेको नालीको पानीमा मृत अवस्थामा फेला परेको थिए ।
बिर्तामोड नगरपालिका वडा नं.६ बस्ने नेत्र मैनालीको छोरा अन्दाजी १९ वर्षीय अनिल मैनाली असार ८ गते देउनियाँ खोला एरियामा च्याउ टिप्न गएको बेला उक्त खोला तर्ने क्रममा चप्पल बगाएकोले चप्पल टिप्ने क्रममा खोलाले बगाई मृत्यु भएको थियो ।
गौरादह नगरपालिका वडा नं. ६ का टगुवा घर भएका हाल दमक नगरपालिका वडा नं.४ ताराबारी बस्दै आएका ६५ वर्षीय भागवत शर्मा असार २८ गते रतुवा खोलाको बगरमा घोप्टो परी मृत अवस्थामा फेला परेका थिए ।
गौरादह नगरपालिका वडा नं.९ स्थित रहेको किस्ने खोलामा वडा नं। २ का आबुलाल ताजपुरियाको छोरा १३ वर्षीय एन्जल ताजपुरिया असार ३० गते पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
गौरीगञ्ज गाउँपालिका वडा नं. ३ बस्ने पर्शुराम पराजुलीको छोरा १४ वर्षीय सागर पराजुली सोही ठाउँमा रहेको लेरा खोलामा साउन ३ गते पौडी खेल्ने क्रममा पानीमा डुबेको स्थानीयहरुले देखी तत्काल पानीबाट निकाली उपचारको लागि दमक अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
झापा गाउँपालिका वडा नं. ४ ग्रामथान स्थितमा रहेको नेपाल भारतको दशगजा सिमाना क्षेत्रमा रहेको खाल्डोमा जमेको पानीमा वडा नं. १ बस्ने गौतम कुमार गणेशको छोरा वर्ष ७ वर्षीय डेनिस गणेश साउन ७ गते खेल्ने क्रममा चिप्लेर पानीमा डुबी घाइते भई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोड पठाइएको र अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको थिए ।
यस्तै, साउन ७ गते बाह्रदशी गाउँपालिका वडा न. १ नयाँ बस्ती स्थित अदुवा खोलामा खोलाले बगाई ल्याएको जस्तो देखिने, साडी बेरिएको तत्काल नाम थर वतन नखुलेको पहिचान गर्न नसकिने लास सडे गलेको अवस्थामा फेला परेकोले सम्पूर्ण कानुनी प्रक्रिया पुरा गरी लास पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाइएको प्रवक्ता रिजालले जानकारी दिनुभयो ।
९ जना शवहरुको सम्पूर्ण कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात दाहसंस्कारको लागि आफन्तले बुझी लगिसकिएको र सो सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ ।