Online Bichar
बुधबार, बैशाख २६, २०८१ | Wednesday, May 8, 2024

काठमाडौँ, ७ साउन २०८० । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट क्विन्टल सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले भन्सार अधिकृतसहित ३ कर्मचारी र थप ३ एजेन्टलाई पक्राउ गरेको छ ।

विमानस्थल भन्सारबाट तस्करीको सुन पार गराएको आरोपमा विभागले विमानस्थल भन्सारका अधिकृत सन्तोष चन्द, जाँचकी (खरिदार) कुमार ढकाल र एक्स-रे प्राविधिक सरोज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । त्यस्तै भन्सार एजेन्टहरु झापा गौरादहकी रुक्मिला सुब्बा, चितवन मेघौलीका सुदर्शन गौतम र सिन्धुपाल्चोक बलेफीका यादव पराजुली पक्राउ परेका हुन् ।

रेडी ट्रेडले ल्याएको थियो दुई महिनामा १९९७ किलो सामान

मंगलबार विभागले भन्सार जाँच पास गरी बाहिरिएको करिब १ क्विन्टल सुनसहित २ जनालाई पक्राउ गरेको थियो । त्यसपछि बुधबार र बिहीबारको अनुसन्धानमा एक भारतीय र एक चिनियाँसहित आठ जना यही प्रकरणमा पक्राउ परेका थिए । अनुसन्धानका क्रममा विमानस्थल भन्सार अधिकृत चन्द, खरिदारद्वय ढकाल र श्रेष्ठ निलम्बनमा परेका थिए । निलम्बित ३ कर्मचारी र अन्य ३ एजेन्टलाई आइतबार पक्राउ गरिएको हो ।

विभागले सुन तस्करका एजेन्ट आशंकामा लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन भाग्न लागेका अर्का एजेन्ट चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीन विमानस्थल अध्यागमन डेस्कबाट पक्राउ गरेको थियो । दुवै विदेशी सुन तस्करीमा संलग्न मुख्य गिरोहका सहयोगी रहेको अनुसन्धानबाट खुलेको छ ।

मंगलबार नै भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्करराज भट्ट पक्राउ परेका थिए । त्यही क्रममा आइतबार ६ जनालाई पक्राउ गरिएको हो । विभागले आइतबार भन्सार विभागलाई पत्र पठाएर निलम्बित ३ कर्मचारीलाई उपस्थित गराउन भनेको थियो । त्यसपछि विभागमा पुगेका कर्मचारीहरुलाई त्यहींबाट नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।कान्तिपुरबाट

 

तपाईको प्रतिक्रिया