Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, १३ मंसिर  । सरकारद्वारा सार्वजनिक सामाजिक सुरक्षा कार्यक्रमले गाउँ–शहरदेखि सामाजिक सञ्जालसम्मलाई मंसिरको चिसोमा पनि तताइरहेको छ ।

कार्यक्रम राम्रो भए पनि भड्किलो भएको, बलात्कारपीडितले न्याय नपाइरहेका बेला पोल–पोलमा सरकार भेटिएको भन्दै सरकारप्रति व्यंग्यका वर्षा भइरहेका छन् ।

नकारात्मक प्रतिक्रियाहरुको भेल लागेपछि प्रधानमन्त्री स्वयं नै प्रतिरक्षामा उत्रिए पनि सवाल–जवाफ रोकिएको छैन । बरु, यो नयाँ कलेबरमा देखापरेको छ ।

यही सिलसिलामा सरकारको सामाजिक सुरक्षा कार्यक्रम प्रचारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसिएका छन् । बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको तस्वीर राख्दै काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा गएराति पोस्टर टाँसिएको हो ।

निर्मलालाई न्याय दिन माग गर्दै टाँसिएको पोस्टरमा अंग्रेजीमा लेखिएको छ– न्याय दिन ढिलाइ गर्नु न्याय दिन इन्कार गर्नु हो ।

३क्ष्mउगलष्तथ दिइएको पोस्टर स्वतन्त्र युवाहरुले स्वतःस्फूर्त रकम खर्चेर टाँसेका हुन् । युवाहरुले आफ्नो पहिचान भने गोप्य राखेका छन् ।

अभियानका एक युवाले बुधबार राति निर्मलाको न्यायका लागि पोस्टर टाँसिएको अनलाइनखबरलाई बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीका लागि १८ करोडको गाडी खरिद गर्न लागिएको समाचार सार्वजनिक भएलगत्तै युवाहरुको यो समूहले व्यंग्य कस्दै भीखसमेत मागेको थियो ।

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारा अझै पत्ता लाग्न सकेको छैन । सरकारी तबरबाट हत्याको छानबिनका लागि गठिन समितिहरु समेत बेकामे बनेपछि यसको चर्को आलोचना हुँदै आइरहेको छ ।

तपाईको प्रतिक्रिया