एजेन्सी, २० असार २०८० । कार्लो एन्सेलोटी ब्राजिलको मुख्य फुटबल प्रशिक्षक बन्ने भएका छन् । एन्सेलोटीले २०२४ को कोपा अमेरिकाबाट २०२६ को फिफा विश्वकपसम्म टिमको जिम्मेवारी सम्हाल्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ । एन्सेलोटीले सन् २०२४ को कोपा अमेरिकाका लागि ब्राजिलको प्रशिक्षण सम्हाल्ने बताइएको छ । स्पेनिस् जाइन्ट रियल मड्रिडसँगको सम्झौता यही वर्ष अर्थात् सन् २०२३ मा पूरा गरेर उनले ब्राजिल राष्ट्रिय फुटबल टिमको जिम्मेवारी लिने भएका हुन् । ६४ वर्षीय प्रशिक्षक एन्सेलोटीले करिअरमा पहिलो पटक राष्ट्रिय टिमको जिम्मेवारी सम्हाल्न लागेका हुन् । यसअघि उनी एक पटक इटालीको राष्ट्रिय टिममा सहायक प्रशिक्षकको भूमिकामा थिए ।
फिफा विश्वकप २०२२ मा क्वाटरफाइनलमा क्रोएसियासँग पराजित हुँदै बाहिरिएपछि ब्राजिलको मुख्य प्रशिक्षक छाडेका टेटेको स्थान एन्सेलोटीले लिने छन् । एन्सेलोटीले जिम्मेवारी लिँदासम्म ब्राजिलले फ्लुमिनेसका मुख्य प्रशिक्षका फर्नान्डो डिनिजलाई अन्तरिम प्रशिक्षक बनाएको छ । एसी मिलानमा पूर्व खेलाडी एन्सेलोटीले रियल मड्रिड, चेल्सी, पेरिस सेन्ट जर्मन (पीएसजी) जस्ता सफल क्लबको प्रशिक्षण गराइसकेका छन् ।