काठमाडौं, १९ असार २०८० । चर्चित नेपाली रकगायक तथा अभिनेता रविन तामाङको निधन भएको छ । दिदी भगवती तामाङले भाइ रविनको मंगलबार बेलुका निधन भएको पुष्टि गरिन् ।
अहिले पोस्टमार्टमका लागि रविनको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ । मंगलबार बेलुका बुढानीलकण्ठस्थित घरमा रविनको निधन भएको भगवतीले बताइन् ।
प्रहरी प्रभाग बुढानिलकण्ठका इन्सपेक्टर दीपेन्द्र चन्दले गायक तामाङकी दिदी भगवतीले प्रहरीलाई ६ बजे खबर गरेको र सोहीअनुसार बुढानिलकण्ठ(५ चिसेनीस्थित उनको घरमा पुगेको बताए ।
‘प्रहरीलाई मृतकको दिदीले खबर गर्नुभएको हो । तुरुन्तै घटनास्थलमा पुगेर दिदीकै आग्रहमा हामी घरभित्र पस्यौं । शव मृत अवस्थामा भेटिएको थियो । शंकास्पद केही देखिँदैन । सामान्य अवस्था छ । घटनास्थल क्लिन देखिन्छ’ उनले भने । सबै प्रक्रिया पुर्याएर रविको शवलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको उनले जानकारी दिए ।
‘अहिले पोस्टमार्टमका लागि टिचिङ लगिएको छ । यो खबरले गर्दा हामी मर्माहत भएका छौं’ उनले भनिन् । रविन एण्ड द रिभोलुसन ब्याण्डका भोकलिस्ट समेत रहेका रविन पछिल्लो समय चलचित्र अभिनयमा समेत व्यस्त थिए ।
उनको पछिल्लो फिल्म ‘छड्के २’ थियो । नेपाली रक जनराको गीतको विकासमा उनको योगदान उल्लेख्य मानिन्छ । उनको निधनमा नेपाली संगीतकर्मीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।