Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौं, १९ असार २०८० । नेपालले लगातार तेस्रो पल्ट एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार भएको फाइनलमा घरेलु टोली मलेसियालाई नेपालले २२१ रनको फराकिलो अन्तरले हराएको हो ।

नेपालविरुद्ध २५३ रनको लक्ष्य पछ्याएको मलेसिया १४ दशमलव ५ ओभरमा मात्र ३१ रन बनाएर आउट भयो । मलेसियाका मोहमद अक्रमले १० रन बनाउनु बाहेक अरु ब्याटरले दोहोर स्कोरमा रन नै बनाउन सकेनन् । मलेसियाका ५ जना ब्याटरले खाता खेल्न सकेनन् ।

नेपालका अभिषेक तिवारीले ५ तथा सन्तोष यादवले ३ विकेट लिए । ६ ओभर बलिङ् गरेका तिवारीले १ मेडन राखेर जम्मा ७ रन मात्र दिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले नरेन भट्टको शतक मद्दतमा ८ विकेटको क्षतिमा पूरै ३५ ओभर खेल्दै २५२ रन बनाएको थियो । नेपालका लागि नरेन भट्ट एक्लैले ८९ बलमा सर्वाधिक अविजित ११२ रनको योगदान गरे ।

उनले १० चौका र दुई छक्का मद्दतमा ११२ रन बनाए । नेपालका लागि निरजकुमार यादवले ४७, सन्तोष यादवले २६, सूर्यांशु कोइरालाले १८, अशोक धामीले ११, दिपु कुमारले ५, क्याप्टेन अभिशेक तिवारीले ४, आशिष लुहारले २ र प्रतिक भट्टराईले एक रन बनाए । नेपालले २६ रन अतिरिक्त पायो ।

मलेसियाका मोहम्मद अकरमले तीन तथा हजिक हाइकल, अरिन अक्ल र मुहम्मद फथुल मुइनले समान एकरएक विकेट लिए । एसियाली क्रिकेट काउन्सिलले यसअघि एसीसी यू–१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गरेको थियो र नेपालले २०१७/२०१९ मा लगातार उपाधि जितेको थियो ।

 

तपाईको प्रतिक्रिया