Online Bichar
शुक्रबार, बैशाख २१, २०८१ | Friday, May 3, 2024

काठमाडौँ, १५ असार २०८० । नेपालले घरेलु टोली मलेसियालाई ८४ रनले हराएर एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटमा समूहविजेता बन्दै सेमिफाइनलमा पुगेको छ । यसअघि नै सेमिफाइनल पुगेको नेपाल शुक्रबार मलेसियालाई हराउँदै समूह ‘ए’ विजेता बनेको हो ।

समूह ‘ए’ मा रहेको थाइल्यान्ड दुवै खेलमा पराजित भएपछि नेपाल र मलेसिया सेमिफाइनल पुगेका हुन् । नेपालले अब सेमिफाइनलमा समूह ुबीुको उपविजेता सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । सिंगापुर शुक्रबार नै भएको खेलमा हङकङसँग ७ विकेटले पराजित भयो । हङकङ समूह ‘बी’ को विजेता भएर समूह ‘ए’ को उपविजेता मलेसियासँग सेमिफाइनलमा खेल्नेछ । दुवै सेमिफाइनल आगामी सोमबार हुनेछ ।

१ सय ८४ रनको विजय लक्ष्य लिएर आएको मलेसिया ३०.५ ओभरमा ९९ रनमै अलआउट भएको हो । मलेसियाका लागि मोहम्मद हाइरिलले सर्वाधिक २५ रन बनाए । त्यस्तै मोहम्मद आलिफले १५ रन बनाउँदा मोहम्मद अक्रमले १२ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अशोक धामीले ४ विकेट लिए । ७ ओभर बलिङ गरेका उनले १४ रन मात्र खर्चिएका थिए । त्यस्तै ४।५ ओभरमा २६ रन खर्चिँदै अभिषेक तिवारीले ३ विकेट लिए । सन्तोष यादवले २ विकेट लिँदा कृतिक कामतले १ विकेट लिए ।

त्यसअघि बांगीस्थित वाईएसडी यूकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३३।४ ओभरमा अलआउट हुँदै १८३ रन जोड्न सफल भएको थियो ।

बलिङमा समेत उत्कृष्ट प्रदर्शन गरेका अशोक धामीले नेपालको ब्याटिङ लाइनसमेत सम्हालेका थिए । म्यान अफ द म्याच बनेका धामीले ३६ बलमा ३ चौका र ५ छक्काको मद्धतमा ५२ रन बनाए । त्यस्तै ओपनर सूर्यांशु कोइरालाले २९ रन बनाए । नरेन खड्काले पनि २९ रन बनाए । कृतिक कामतले १६ रन बनाउँदा दीपु कुमारले १५ रन जोडे ।

मलेसियाका लागि हाजिक हाइकाल, मोहम्मद अक्रम, अरिन अकील र मोहम्मद मुक्रीले समान २/२ विकेट लिए । त्यस्तै मोहम्मद फतुल फतरीले १ विकेट लिए ।

तपाईको प्रतिक्रिया