Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, ५ असार २०८० । जिम्बावेमा जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले अमेरिकाबाट २ सय ८ रनको लक्ष्य पाएको छ ।

जिम्बावेको राजधानी हरारेमा रहेको टागासिंगा स्पोर्टस् क्लबमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २ सय ७ रनमा अलआउट भयो ।

अमेरिकाका लागि शायन जाहान्गिरले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित १ सय रनको शतकीय ईनिङ खेले । अमेरिकाले सुरुआतको चार विकेट सस्तै गुमाएको थियो ।

पाँचौ विकेटका लागि गजानन्द सिंह र सुशान्त मोदानीले ७३ बलमा ४७ रनको साझेदारी गरेका थिए । वेस्ट इन्डिजसँगको अघिल्लो खेलमा शतक बनाएका सिंह २६ रनमा आउट भएका थिए ।

गजानन्द ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएर आउट भए ।

छैटौं विकेटका लागि शायन जाहान्गिर र सुशान्त मोदानीले ३७ बलमा २९ रनको साझेदारी गरे । ओपनर मोदानीले ७१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ४२ रन बनाए ।

सातौं विकेटका लागि जाहान्गिर र निर्शग पटेलले ५४ बलमा ३४ रनको साझदारी गरे । पटेलले २५ बल खेलेर ८ रन बनाए ।

आठौं विकेटका लागि जाहान्गिर र जसदिप सिंहले ४१ बलमा ४२ रनको महत्वपूर्ण साझेदारी गरे । जसदिपले २५ बलमा १२ रन बनाए ।

नवौं विकेटका लागि जाहान्गिर र सौरभ नेत्राभाल्करले ३२ बलमा ३७ रनको साझेदारी गरे ।

नेपालका लागि करण केसीले ९ ओभरमा ३३ रन खर्चिएर ४ विकेट लिए । गुलसन झाले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ललितनारायण राजवंशी १ विकेट आफ्नो नाममा गरे ।

दोस्रो खेल खेल्दै गरेको नेपाल अमेरिकालाई हराएर प्रतियोगितामा पहिलो जित हात पार्न चाहन्छ । उता, अमेरिका पनि सोहि सोचका साथ मैदान उत्रने छ ।

पहिलो खेलमा नेपाल घरेलु टोली जिम्बावेसँग पराजित भएको थियो । नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । उता, अमेरिका भने वेस्ट इन्डिजसँग ३९ रनले पराजित भएको थियो ।

दुवै टोली पहिलो जितको खोजीमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखिएको छ ।

नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग २२ जुन अर्थात असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्डसँग २४ जुन अर्थात असार ९ मा खेल्नेछ ।

 

तपाईको प्रतिक्रिया