Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

बिर्तामोड, १२ मङ्सिर । झापाको बिर्तामोड नगरपालिकाले विभिन्न २० वटा कार्यविधि तथा निर्देशिका पारित गरेको छ। नगरपालिकामा जनप्रतिनिधि आएपछि पहिलो पटक कार्यविधि र निर्देशिका पारित गरिएको हो।

कार्यविधि तथा निर्देशिका निर्माण गरी लागू गरिएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए। पारित गरिएका कार्यविधिमा विपद् व्यवस्थापन कोष संचालन कार्यविधि, स्थानीय तह स्वास्थ्य संस्था, दर्ता, अनुमति तथा नवीकरण निर्देशिका, घ वर्गको निर्माण व्यवसायी इजाजत कार्यविधि, उपभोक्ता समिति गठन परिचालन तथा व्यवस्थापन कार्यविधि, टोल विकास संस्था संचालन कार्यविधि, खेलकुद विकास निर्देशिका, सूचना तथा संचार कार्यविधि रहेका छन्।

यसैगरी, विद्युतीय हाजिरी प्रणाली प्रयोग गर्ने कार्यविधि, नगर प्रहरी गठन तथा संचालन कार्यविधि, श्रमिक संचालन कार्यविधि, करारमा प्रबिधिक कर्मचारी ब्यबस्था गर्ने कार्यविधि, बजार अनुगमन निर्देशिका, सवारी साधन परिचालन र व्यवस्थित गर्न बनेको कार्यविधिलगायत कृषि, पशुसेवा संचालनसम्बन्धी कार्यविधि पनि पारित गरी लागू गरेको प्रमुख शिवाकोटीले बताए । उनका अनुसार कतिपय कानुन कार्यान्वयन गर्न निर्देशिका र कार्यविधिको अभावमा समस्या भइरहेको बेला अब कार्यविधि तथा निर्देशिका पारित भएसँगै सहजता हुनेछ।

यसैबीच नगरपालिकाले मिडिया क्षेत्रको विकासका र संचारकर्मीको हीतका लागि सूचना तथा संचार कार्यविधि पनि लागू गरेको छ। सूचना तथा संचार कार्यविधि २०७५ नामक सो कार्यविधि लागू भएपछि नगर क्षेत्रका संचारमाध्यम र संचारकर्मीको हक र हीतका लागि नीतिगत व्यवस्था गरिएको बिर्तामोड नगरपालिकाका प्रेस संयोजक तीर्थ सिग्देलले बताए ।

उनका अनुसार सो कार्यविधिमा व्यवस्था भएअनुसार अब नगरपालिकाले प्रत्येक वर्ष एकजना संचारकर्मीलाई विकास पत्रकारिता पुरस्कार प्रदान गर्नेछ भने नगरको एउटा सञ्चारगृहलाई पनि पुरस्कृत गर्नेछ। नगरका विकासमूलक समाचारलाई प्राथमिकता दिने एकजना पत्रकार र एउटा संचारमाध्यमलाई पुरस्कृत गरिने नीतिगत व्यवस्था भएको छ।

अन्नपुर्णपोष्ट बाट

तपाईको प्रतिक्रिया