Online Bichar
मंगलबार, आश्विन २२, २०८१ | Tuesday, October 8, 2024

काठमाडौं, १ असार २०८० । हरिहजुर थापा नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् । नेपाल भलिबल संघले किर्गिस्तानमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि सेटर हरिहजुरलाई कप्तान नियुक्त गरेको हो ।

ईम राना मगरको अनुपस्थितिमा संघले हरिहजुरलाई कप्तान चयन गरेको हो । काभा नेसन्स लिग खेल्ने टोलीमा ईम अटाएका छैनन् । अब नेपालले हरिहजुरको कप्तानीमा नेसन्स लिग खेल्ने छन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी हरिहजुर पुरुष भलिबल टोलीको १० औं कप्तान हुन् । उनले आर्मीको कप्तानी समेत गरिसकेका छन् । हरिहजुर २०१५ बाट नेपाली टोलीको नियमित सदस्य हुन् ।

काभा पुरुष भलिबल नेसन्स लिग खेल्न नेपाली टोली शुक्रबार बिहान किर्गिस्तान प्रस्थान गरेकाछन् । नेपाली टोलीलाई नेपाल भलिबल संघले बिहीबार नै बिदाइ गरेको थियो ।

काभा नेसन्स लिगमा नेपालसहित ७ टोलीले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान,उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्किमिनिस्तान रहेको छ ।

सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । यस्तै तेस्रो र चौंथो हुने टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता आगामी जुन १८ देखि २५ सम्म हुनेछ ।

 

तपाईको प्रतिक्रिया