Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

कृष्ण आचार्य
काठमाडौँ, १२ मंसिर । होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुकी ५ देखि १० बजेसम्म मात्र बिक्री तथा सेवन गराउन पाउनेछन्’
सरकारले मदिरा उत्पादन, बिक्री, सेवन र विज्ञापनमा कडाइ गर्ने भएको छ । यसका लागि मदिरा उत्पादन र बिक्री वितरणको नियमन तथा हानिकारक सेवन नियन्त्रणसम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गरिँदै छ ।

गृह मन्त्रालयले तयार पारेको आदेश मस्यौदा अनुसार इजाजत प्राप्त बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । ‘इजाजतपत्र प्राप्त होटल, लज, बार तथा रेस्टुरेन्टले बेलुकी ५ देखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गराउन पाउने छ,’ मस्यौदामा उल्लेख छ । होटल, लज, रिसोर्ट, बार, रेस्टुरेन्टको बाहिरी भागमा बसेर मदिरा सेवन गर्नरगराउन नपाउने व्यवस्था गरिएको छ ।

‘सरकारी वा गैरसरकारी निकाय, शिक्षण संस्था वा व्यक्तिले आयोजना गर्ने सार्वजनिक समारोह वा कार्यक्रममा मदिरा सेवन गर्न पाइने छैन,’ आदेशमा भनिएको छ, ‘सरकारी वा सार्वजनिक निकायबाट आयोजित सभा सम्मेलन र भोजहरूमा मदिरा निषेध गरिनेछ ।’

सार्वजनिक क्षेत्र एवं कार्यस्थल आसपास उत्पादन र राजमार्ग आसपास क्षेत्रमा बिक्री गर्नसमेत रोक लगाइँदै छ ।

‘आदेश मन्त्रिपरिषद्मा पेस भइसकेको छ,’गृहप्रवक्ता रामकृष्ण सुवेदीले भने, ‘मन्त्रिपरिषद्ले निर्णय गरे पछि सम्बन्धित निकायहरूमा जानेछ ।’ आदेशले मदिरा सेवन गर्नेलाई सार्वजनिक सवारीसाधनमा यात्रा गर्नसमेत रोक लगाएको छ । ‘मदिरा सेवन गरेको व्यक्तिलाई अस्पताल, विद्यालय, कलेज तथा सार्वजनिक निकायको कार्यालय प्रवेशमा निषेध गरिनेछ,’ मस्यौदामा भनिएको छ, ‘सञ्चारमाध्यमबाट मदिरा तथा मदिराजन्य पदार्थ उत्पादनको विज्ञापन, प्रकाशन तथा प्रसारण गर्न, सार्वजनिक स्थानमा होडिङ, पर्चा, पोस्टर टाँस्न पाइने छैन ।’

यो पनि पढ्नुहोस् स्
मदिरामा कडाइविरुद्ध व्यवसायी
मदिरा उद्योगलाई खेलकुद, कन्सर्टलगायत सार्वजनिक कार्यक्रमको प्रायोजनमा रोक लगाइएको छ । मदिरा उपहारका रूपमा लेनदेन गर्नसमेत रोकिएको आदेशले आयातमा समेत कडाइ गर्ने संकेत देखिन्छ । ‘अल्कोहलको परिमाणले स्वास्थ्यमा पर्ने सम्भावित जोखिमको सन्देश र अधिकतम बिक्री मूल्य नतोकिएको मदिरा आयात गर्न पाइने छैन,’ मस्यौदामा भनिएको छ । मदिरा बिक्रेताले खरिद गर्नेको नाम, ठेगाना र उमेरको अभिलेख अनिवार्य राख्नुपर्नेछ ।

मदिरा बिक्री वितरणका लागि इजाजतपत्र जारी गर्नुअघि स्थानीय प्रहरी कार्यालयको राय लिनुपर्ने आदेशमा उल्लेख छ । गाउँपालिकामा एउटा वडामा एउटा र महानगर, उपमहानगर र नगरपालिकामा एउटा वडामा दुईवटासम्म पसललाई मात्र बिक्री इजाजत दिने प्रस्ताव छ ।
आदेशअनुसार नयाँ मदिरा उद्योगको अनुमति, दर्ता र क्षमतावृद्धि तत्काललाई गरिने छैन ।

‘इजाजत प्राप्त गरी ६० प्रतिशतभन्दा बढी लगानी र तयारी पूरा गरेबाहेक सञ्चालनमा आउन बाँकी उद्योगलाई सञ्चालन अनुमतिको अर्को व्यवस्था नहुन्जेल रोक्का गरिने छ,’ आदेशमा भनिएको छ ।
इजाजत प्राप्त गरी सञ्चालनमा रहेका उद्योगको शाखा विस्तार तथा क्षमता वृद्धि पनि स्थगित गरिने जनाइएको छ । ‘नेपाल–भारत सीमा ९दशगजा० बाट १ किलोमिटरभित्रको क्षेत्रमा नयाँ मदिरा पसल सञ्चालनको अनुमति दिइने छैन,’ आदेशमा उल्लेख छ ।

विश्व सम्पदामा सूचीकृत स्थानहरूको ५ सय मिटर आसपास मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको छ । धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किलोमिटर टाढा पर्ने गरी उद्योग सञ्चालन गर्नुपर्ने प्रस्ताव छ ।

‘स्थानीय तहको सिफारिसमा वडा कार्यालयले धार्मिक, सांस्कृतिक, शैक्षिक स्थल वा अन्य कुनै स्थानलाई चारकिल्ला तोकी मदिरा निषेधित क्षेत्र तोक्न सकिनेछ,’ आदेशमा भनिएको छ । निषेध घोषणा गरिएको क्षेत्रका मदिरा पसलको अनुमतिपत्र स्वतस् खारेज हुने व्यवस्था ल्याइँदै छ ।

तपाईको प्रतिक्रिया